आगामी वैशाखसम्म लक्षित समूहका सबैलाई खोप : स्वास्थ्यमन्त्री खतिवडा

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सम्पूर्ण लक्षित जनशक्तिलाई आगामी वैशाखसम्म खोप लगाइसकिने बताएका छन्। कार्यकालको एक सय दिन पूरा भएको अवसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आगामी वैशाख महिनाभित्रै सबै लक्षित समूहलाई खोप लगाइसकिने बताए।

‘विसं २०७९ वैशाखसम्म लक्षित समूह सबैलाई खोप लगाइसक्ने हाम्रो लक्ष्य छ। पहिले चैत महिनासम्म लगाइसक्ने लक्ष्य थियो। तर, अब लक्षित समूहमा १२ वर्षमाथिका पनि समेटिएकाले एक महिना लम्ब्याइएको छ। यसअघि लक्षित समूहमा १८ वर्षमाथिकालाई मात्र समेटिएकोले चैतसम्म भनिएको थियो। सायद वैशाखअघि नै पूरा हुन्छ’, उनले भने।

उनले लक्षित समूह सबैलाई खोप लगाउन खोपको मात्रा पनि सुनिश्चित भइसकेको बताए।

यस्तै मन्त्री खतिवडाले आगामी फागुन १ गतेदेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज दिइने बताए। ‘यसअघि हामीले फ्रन्टलाइनरलाई मात्र बुस्टर डोज दिने भनेका थियौं। अब फागुन १ गतेदेखि १८ वर्षमाथिका दोस्रो डोज लगाएको ६ महिना पूरा भइसकेका सबैलाई बुस्टर डोज दिन्छौं’, उनले भने।

मन्त्री खतिवडाले ५ वर्षमाथिका लागि पनि खोप लगाउने तयारी भइरहेको उल्लेख गरे। उनले यसका लागि प्रक्रिया सुरु भइसकेको र चाँडै लगाउन सुरु गरिने बताए।



Leave a Reply

Your email address will not be published.