सरोगेसी : श्रम बिक्रीको लागि हो, शरीर होइन

स्वस्थ समाज त्यो हो जहाँ तर्क-वितर्कको संस्कृतिलाई प्रोत्साहन गरिन्छ। तर्कहरूलाई प्रोत्साहन गरिन्छ, र समाजका मानिसहरू त्यसमा सहभागी हुन्छन्, तब दिमाग सक्रिय हुन्छ। यस्तो अवस्थामा निर्णयविहीन जनताले पनि आफ्नो तर्कमा शक्ति भएकाको पक्षमा उभिने साहस देखाउँछन्। तर समस्या यो हो कि हाम्रो समाजले तर्क-वितर्कलाई राम्रो मान्दैन। ठूला, प्रतिष्ठित र बहुसंख्यक जनता उभिएको पक्षलाई नै सही मान्ने कुरामा हामी र हाम्रो समाज अभ्यस्त भैसकेको छ।

पूरानो समयदेखि आजसम्म यही चलन चलेको छ कि जो व्यक्ति भीडबाट अलग विचार राख्छ, बहुमतभन्दा फरक मत व्यक्त गर्छ उसलाई विवादास्पद र गलत भनेर चिनाउने गरिन्छ। मानिस बहुसंख्यकहरु भन्दा फरक विचार राख्न डराउँछ, आफैंलाई विवादास्पद बनाउन उ चाहँदैन। यो स्वस्थ समाजको लक्षण होइन, यो त बन्द जलाशय जस्तै हो। बहुसंख्यकभन्दा फरक विचार व्यक्त गर्दा समाजका सबै तहका मानिसहरूले मलाई लक्षित गर्छन्। उनीहरूले मलाई विवादास्पद भन्दै अरूभन्दा फरक पार्छन्।

भारतको समाज बंगलादेशको समाज भन्दा धेरै फरक छैन। धार्मिक कट्टरता र अन्धविश्वासविरुद्ध आवाज उठाउँदा यहाँका मानिसहरू पनि मलाई अनौठो नजरले हेर्छन्। जसरी बंगलादेशले मलाई आफूबाट अलग गरेको छ, भारतमा पनि त्यस्तै अवस्था छ। केही दिन अघि मैले सरोगेसीको बारेमा आफ्नो विचार व्यक्त गरें। मेरा विचारहरू प्रतिष्ठित व्यक्तिहरूको विचारसँग मेल नखाँदा मानिसहरूले मलाई निशाना बनाउन थाले। सरोगेसीमा बहुसंख्यक समाजको धारणा छ कि धनी र व्यस्त महिलाले गरिब महिलाको गर्भ भाडामा तिर्छन् भने त्यसमा केही गलत छैन।

यसबाट जहाँ धनी महिलाको इच्छा पूरा हुन्छ, त्यसबाट गरिब महिलाले पनि आफ्नो गर्भ भाडामा दिएर राम्रो मूल्य पाउँछन्। तर म सरोगेसीलाई समर्थन गर्दिनँ। मलाई लाग्छ, कसैको शरीर बेच्न सकिँदैन, भाडा तिरेर शरीर प्रयोग गर्न सकिँदैन। श्रम बिक्रीको लागि हो, शरीर होइन। भारतमा सरोगेसीमार्फत बच्चा जन्माउनु कुनै नौलो कुरा होइन। बलिउड नायिकाहरुले सरोगेसीमार्फत सन्तान जन्माएको खबर बेलाबखत आउने गरेको छ। गरिब महिलाको गर्भ भाडामा लिन अन्य धनी देशका मानिस पनि भारत आउँछन्। यो राम्रो अवस्था होइन। मलाई विश्वास छ कि, सरोगेसी एक चमत्कारी वैज्ञानिक आविष्कार हो। तर, सरोगेसी प्रथा तबसम्म रहिरहन्छ जबसम्म संसारमा गरिबी रहन्छ। धनीहरूले गरिब महिलाको गर्भ नौ महिना भाडामा लिने गर्छन्।

अर्कोतर्फ, धनी महिलाले आफ्नो गर्भ कहिल्यै भाडामा दिँदैन। किनभने, गर्भावस्थामा धेरै जोखिम हुन्छ, बच्चा जन्माउने समयमा पनि जोखिम कम हुँदैन। हामी सबैलाई थाहा नै छ, गरिब महिलाहरूले आफ्नो गरिबीको कारणले जानाजानी यो जोखिम लिन्छन्। तर, धनी महिलाहरू किन यस्तो जोखिम लिन चाहलान् र? विपन्न महिला वा तिनका परिवारले पनि विवश भएर यस्तो जोखिम उठाउँछन्। र यो पनि निश्चित छ कि हरेक गरीब महिलाले यो जोखिम लिँदैनन्। धनी तथा व्यस्त महिलाहरूलाई बच्चा चाहिए उनीहरु अनाथ बच्चालाई पनि त स्वीकार्न सक्छन्। आखिर संसारभर अनाथ बालबालिकालाई धर्मपुत्र बनाउने चलन छँदैछ। तर, सरोगेसी चाहने महिलाहरू आफ्नो जीनसहित तयार बच्चा चाहन्छन्।

म सरोगेसीलाई तब मात्र समर्थन गर्नेछु जब गरीब महिला मात्र होइन, धनी महिलाहरूले पनि अरूलाई आफ्नो गर्भ प्रयोग गर्न दिनेछन्। पैसाको लागि होइन, बच्चा जन्माउन नसक्ने महिलाहरूलाई मद्दत गर्न। सरोगेसी एउटा अचम्मको वैज्ञानिक आविष्कार हो तर किन गरिब महिलाको गर्भ मात्रै यसको प्रयोगशाला बन्यो? त्यसैगरी, म बुर्कालाई पनि स्वीकार गर्नेछु, जब पुरुषले पनि लगाउनेछन्। यस्तै म तब वेश्यालयहरूलाई समर्थन गर्नेछु, जब पुरुषको वेश्यालय पनि ठाउँठाउँमा खुल्नेछ। यदि त्यसो भएन भने, यसको मतलब सरोगेसी, बुर्का र वेश्यालयहरू वास्तवमा महिला र गरिबहरूको शोषणको साधन मात्र हुन्।

मैले सरोगेसीको विरुद्धमा जब आफ्नो धारणा व्यक्त गर्न थाले तब समाजको बन्द जलाशयबाट लहरहरू उठ्न थाले। पितृसत्तात्मक समाजले नारीको शरीरलाई बिक्रीको रूपमा लिने भएकाले सरोगेसीलाई अन्यायपूर्ण ठान्दैन। धनी महिलालाई गर्भ भाडामा लिने अधिकार हुनुपर्छ भन्ने समाजको मान्यता छ। पैसाको लागि यति ठूलो जोखिम लिने गरिब महिलाको बारेमा कसैले सोच्दैन। सरोगेसीका समर्थकहरूले गर्भ भाडामा लियवापत धेरै पैसा तिर्ने गरिएको बताउँछन्। यो समृद्ध समाजको पुरानो तर्क हो। जसअन्तर्गत गरिबले पैसाको बदलामा ज्यान जोखिममा लिँदा गलत वा अनैतिक केही हुँदैन भन्ने देखाउँछ। यद्यपि, वेश्यालयहरूलाई समर्थन गर्ने समाजले सरोगेसीलाई पनि समर्थन गर्ने नै भयो। कतिपयले सरोगेसीको औचित्य पुष्टि गर्न गरिब महिलाले मात्र पैसाको लागि आफ्नो गर्भ भाडामा दिने गर्छन्, उनीहरूलाई जबरजस्ती गरिँदैन भन्छन्। पैसाको लागि आफ्नो शरीर बेच्ने महिलाको बारेमा पनि यस्तै भनिन्छ कि उनीहरू आफ्नै स्वेच्छाले त्यसो गर्छन्। तर, यो कुतर्क हो।

सत्य यो हो कि एउटी महिलाले बाध्यतामा आफ्नो शरीर वा कोख बेच्छिन्। बलिउड नायिका प्रियंका चोपडाले सरोगेसीको माध्यमबाट बच्चा जन्माएपछि मैले सरोगेसीको विरुद्धमा आफ्नो धारणा राख्दै उनलाई निशाना बनाएको कतिपय मिडियाले बताउने गरेका छन्। त्यस्तो पटक्कै होइन। म समाजमा चलेका प्रचलनका विरुद्ध बोल्ने र लेख्ने गर्छु। कसैलाई लक्षित गर्ने मेरो उद्देश्य होइन। त्यसैले आफैंमाथि हुने यस्ता आक्रमणबाट पनि म असहज छैन। म चाहन्छु कि एक दिन यो संसारमा यस्तो समानता होस् कि कुनै पनि गरिब नारीलाई पैसाको लागि आफ्नो शरीर वा गर्भ बेच्न बाध्य हुन नपरोस्।



Leave a Reply

Your email address will not be published.