कोभिड-१९ संक्रमणपछि मुटुरोगको समस्या, कति समयसम्म रहन्छ खतरा?

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोभिड-१९ संक्रमण भएका वा भइसकेका व्यक्तिहरूलाई संक्रमण भएको एक महिनादेखि एक वर्षभित्र मुटुसम्बन्धी समस्या हुने जोखिम रहेको पत्ता लागेको छ। साथै पहिलेदेखि नै मुटुसम्बन्धी समस्या भएकाहरुलाई त यसको जोखिम झनै बढी हुने अनुसन्धानले देखाएको छ।

तर अचम्मको कुरा के भने मुटुसँग सम्बन्धित कुनै पनि समस्या नभएका मानिसहरूलाई पनि कोभिडपछि मुटुसम्बन्धी समस्याको जोखिम रहेको अध्ययनमा पाइएको छ।

नेचर मेडिसिन जर्नलमा प्रकाशित अध्ययनको नतिजाले कोभिड–१९ बाट सङ्क्रमित भएका व्यक्तिमा हृदयघात र मृत्युलगायत मुटुसम्बन्धी रोगको जोखिम अन्यको तुलनामा ४ प्रतिशत बढी रहेको देखाएको छ। संक्रमित नभएका व्यक्तिमा भने यसको जोखिम कम पाइएको छ।

अध्ययनका अनुसार संक्रमणविहीन समूहसँग तुलना गर्दा कोभिड–१९ को सम्पर्कमा आएका मानिसमा ७२ प्रतिशत कोरोनरी आर्टरी डिजिज, ६३ प्रतिशत हृदयाघात र ५२ प्रतिशत पक्षाघातको जोखिम रहेको पाइएको थियो।

समग्रमा भन्नु पर्दा भाइरसबाट संक्रमित व्यक्तिहरूमा कोभिड-१९ संक्रमित नभएकाहरुको तुलनामा हृदयघात, स्ट्रोक र मृत्यु लगायतका प्रमुख हृदयघातका घटनाहरू हुने सम्भावना ५५ प्रतिशत बढी देखिएको छ।

सेन्ट लुइसको वाशिंगटन विश्वविद्यालयका मेडिसिनका सहायक प्रोफेसर जियाद अल-अली भन्छन्, ‘कोभिड-१९ ले हृदयमा गम्भीर जटिलताहरू र मृत्यु निम्त्याउन सक्छ। हृदयघात वा कुनै क्षति पछि कसैकसैको हृदय छिटो निको हुँदैन। यही कारणले गर्दा मुटुरोगले मानिसलाई जीवनभर असर गर्नसक्छ।’

कोभिड–१९ को संक्रमण लगातार बढिरहेको र यसका कारण हालसम्म विश्वभर १ करोड ५० लाखभन्दा बढीमा मुटु रोगको समस्या देखा परेको अलीले बताए। त्यसैले संक्रमित भइसकेपछि व्यक्तिले आफ्नो मुटुलाई विशेष हेरचाह गर्नुपर्ने उनले बताए।

अन्वेषकहरूले डेढ लाखभन्दा बढी मानिसको स्वास्थ्यसम्बन्धी जानकारी यसमा लिएका थिए। ती मानिसहरू मार्च १, २०२० र जनवरी १५, २०२१ को बीचमा कोभिड पोजेटिभ भएका थिए।

अली भन्छन्, ‘अध्ययनको निष्कर्षले कोभिड-१९ बाट बच्न खोपको आवश्यकतालाई जोड दिएको छ। साथै, यसले मुटुमा हुने क्षतिबाट जोगाउन पनि महत्वपूर्ण भूमिका खेल्छ। कोभिड–१९ को महामारीबाट देखिएको मुटुरोगका चुनौतीसँग जुध्न विश्वभरका सरकार र स्वास्थ्य क्षेत्र तयार हुनुपर्ने पनि आवश्यक छ।’



Leave a Reply

Your email address will not be published.