आफन्तमा हुने विवाहले बढाउँदै वंशाणुगत रोगको चिन्ता

हेल्थपोस्ट नेपाल

पाकिस्तान प्रशासित कश्मीरमा बस्ने ५६ वर्षीय गफुर हुसेन शाह एक शिक्षक र आठ बच्चाका पिता हुन्। पाकिस्तानको जनजाति चलनलाई उल्लेख गर्दै शाहले आफ्ना छोराछोरीको विवाह पनि आफन्तमा नै होस् भन्ने धेरैको अपेक्षा रहेको बताउँछन्।

तर, आफन्तसँग हुने यस्ता विवाहको जोखिमबारे शाह सचेत छन्। सन् १९८७ मा शाहले आफ्नी मामाकी छोरीसँग विवाह गरे। यो विवाहबाट जन्मिएका तीन सन्तान आनुवंशिक रोगबाट पीडित छन्। शाहले छोराको दिमाग सामान्य रूपमा विकास हुन नसकेको बताए। एउटी छोरीलाई बोलीमा समस्या छ भने एउटी छोरीलाई सुन्नमा समस्या छ।

पेशाले शिक्षकसमेत रहेका शाह भन्छन्, ‘उनीहरुले पढ्न र लेख्न नपाएकोमा मलाई धेरै दु:ख छ। म सधैं उनीहरुको भविष्यको बारेमा चिन्तित हुन्छु… मेरी श्रीमती र म गएपछि उनीहरुको हेरचाह कसले गर्छ?’

यस्ता विवाहले गर्दा हुने वंशाणुगत रोगबारे आफूलाई थाहा भए पनि शाह यो नियम मान्न बाध्य भएको बताउँछन्। नातागोतामा छोराछोरीको बिहे गराउन समाजबाट धेरै दबाब परेको उनी बताउँछन्। पारिवारिक सर्कल भित्र विवाह गर्न अस्वीकार गर्नेहरूलाई अक्सर समाजबाटै बहिष्कार गरिने उनी बताउँछन्।

यही बाध्यताका कारण उनले एक छोरा र दुई छोरीको विवाह नजिकको नातेदारीमा गर्नुपरेको बताए। शाहको परिवारको मेडिकल हिस्ट्रीमा रगतसम्बन्धी बिमारी, सिकाइ कमजोरी, अन्धोपन र बहिरोपनका घटनाहरू बाहिर आएका छन्। चिकित्सकले यसलाई नजिकको नातेदारीभित्र गरिने प्रजननलाई जिम्मेवार बताएका छन्।

सन् २०१७ मा पाकिस्तानमा जेनेटिक म्यूटेशनका सम्बन्धमा एउटा रिपोर्ट आएको थियो। यस रिपोर्टका अनुसार पाकिस्तानको जनसङ्ख्याको विषम संरचनामा एउटै विरासत भएका सन्तानको स्तर निकै उच्च छ। जसका कारण वंशाणुगत रोगहरु आउने गरेका छन्। रिपोर्टले पाकिस्तानको जेनेटिक म्यूटेशन डेटाबेस प्रस्तुत गरेको छ। यस डेटाबेसमा भएका म्यूटेशनलाई ट्र्याक गर्न सकिन्छ जुन त्यस्ता रोगहरूको लागि जिम्मेवार छन्। डेटाबेसका अनुसार, पाकिस्तानमा रिपोर्ट गरिएका १३० विभिन्न जीनसम्बन्धित रोगहरूमा १ हजार भन्दा बढी उत्परिवर्तनहरू (म्यूटेशन) पत्ता लगाइएको छ।

हुमा अरशद चीमा डाक्टर हुन्। उनी जन्मदेखि वयस्कहुनेसम्म बालबालिकाको स्वास्थ्य, व्यवहार र मुडको निगरानी गर्छिन्। आनुवंशिक रोगकी विज्ञ चीमाले नजिकैको नातेदारसँग गरिने प्रजननका कारण आनुवंशिक रोग पाकिस्तानमा बोझ बन्दै गएको बताइन्। डा. चीमाका अनुसार परिवारभित्र विवाह हुनेहरुमा त्यहाँ निकै स्वास्थ्यसम्बन्धी विकृतिहरु देखिएका छन्। हाल, वंशानुगत रक्त विकार थालासेमिया पाकिस्तानमा सबैभन्दा बढी देखिने समस्या बनेको छ। यो रोगमा रगतको रातो रक्त कोशिकाले अक्सिजन सोस्न सक्दैन।

आनुवंशिक रोग पत्ता लगाउने आनुवंशिक परीक्षण र जन्मपूर्व गरिने स्क्रिनिङ पाकिस्तानमा अझै व्यापक रूपमा उपलब्ध छैन। चीमाका अनुसार देशका धेरै अस्पताल र क्लिनिकमा वंशाणुगत रोगको उपचार गर्ने क्षमतासमेत छैन।

कराचीका स्वास्थ्य विज्ञ शिराज-उद-दौलाका अनुसार परिवारभित्र विवाहको सम्बन्ध इस्लामिक परम्परासँग जोडिएको छ। ‘मैले धर्मगुरुहरूलाई आनुवंशिक रोगहरूबारे चेतना फैलाउन मद्दत गर्न र भाइ-बहिनीबीच हुने विवाहले जेनेटिक बिमारीलाई बढाउँछ भनेर मानिसहरूलाई बुझाउन आग्रह गरें। तर, धर्मगुरुहरूले त्यसो गर्न अस्वीकार गरे। धर्मगुरुहरूले यस्तो विवाह इस्लामको शरीया कानुन र पैगम्बर मुहम्मदको परम्परा अनुसार हुने दाबी गरे।’

आफ्नो परिवारभित्रै यस्तो समस्या भोग्ने शिक्षक साह भन्छन्, ‘अधिकांश परिवार यस्तो विवाह यसकारण पनि गर्छन् कि उनीहरुलाई लाग्छ हाम्रो धर्मले नै यही भनेको छ। यदी सरकारले पनि त्यस्ता विवाहलाई गैरकानुनी घोषणा गर्यो भने उसले कडा विरोधको सामना गर्नुपर्नेछ।’

पाकिस्तानको दुर्गम क्षेत्रमा गोत्र र जाति व्यवस्था अझै बलियो छ। चीमाका अनुसार पञ्जाबमा अझै पनि जातीय व्यवस्था निकै शक्तिशाली छ। जसका कारण अन्तरजातीय विवाह हुँदैन र वंशाणुगत रोग लाग्ने सम्भावना उच्च हुन्छ। पाकिस्तानको पश्चिमी प्रान्त बलुचिस्तानमा आदिवासी प्रणाली निकै बलियो छ। गुलाम हुसेन बलोच बलुचिस्तानका बासिन्दा हुन्। हुसेनका अनुसार आफ्नो गोत्र बाहिर विवाह गर्नु ठूलो सामाजिक अपराध हो। सिन्ध प्रान्तमा पनि गोत्र वा जातबाहिर विवाह गर्दा हत्या सम्म हुने गरेको छ।

मार्च २०२० मा, पञ्जाबको प्रान्तीय सरकारले आनुवंशिक रोगहरू रोक्न टास्क फोर्स स्थापना गर्‍यो। लाहोरको बाल अस्पतालमा पनि नि:शुल्क आनुवंशिक रोग परीक्षण सेवा सुरु गरिएको छ। जर्मन कम्पनी सेन्टोजेन डायग्नोस्टिक र केही अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा यस्तो सुविधा उपलब्ध गराइएको हो।

प्रि-नेटल स्क्रिनिङबाट बच्चामा आनुवंशिक रोग पत्ता लगाउन सकिने चीमा बताउँछिन्। यसले अभिभावकहरूलाई हरेक कुरामा निर्णय गर्न मद्दत गर्ने उनले बताइन्। साथै आनुवंशिक रोगको प्रारम्भिक पहिचानले पनि उपचारमा मद्दत गर्ने उनले बताइन्।

पञ्जाब स्वास्थ्य विभागका एक अधिकारीले नाम नबताउने सर्तमा भने, ‘हामीले आनुवंशिक विकारको शंकामा पाकिस्तानमा ३० हजार परिवारको स्क्रिनिङ गरेका छौं।’

स्वास्थ्य विज्ञ शिराज-उद-दौलाका अनुसार जनताको मानसिकता परिवर्तन गर्न आवश्यक छ। ‘धार्मिक कुरामा मानिसहरु आँखा बन्द गरेर विश्वास गर्छन्। उनीहरू कुनै पनि तर्क सुन्न चाहँदैनन्’, शिराज भन्छन्, ‘यदि सरकारले सबै धर्मगुरुहरूलाई बढ्दो आनुवंशिक रोगहरूको बारेमा चेतना फैलाउन र यसलाई भाइ-बहिनीसँग विवाहसँग जोडेर आमजनतालाई बुझाउन कोसिस गर्यो भने सम्भवतः धेरै पाकिस्तानीहरूले ध्यान दिनेछन्।’



Leave a Reply

Your email address will not be published.