मोशन सिकनेस : यात्राको क्रममा बान्ता हुन्छ? यसरी पाउनुस् छुटकारा

काठमाडौं – मोशन सिकनेस (यात्रा गर्दा हुने समस्या) को समस्या अधिकांशलाई देखिन्छ। अधिकांशलाई यात्रा गर्दा बान्ता र वाकवाकी जस्ता समस्याहरू छन्। यद्यपि, मोशन सिकनेस हुनु ठूलो कुरा होइन, तर यसले यात्रा गर्दा मुड नै बिगार्ने गर्छ।
के मोशन सिकनेस बिमारी हो?
मोशन सिकनेस कुनै रोग होइन। कतिपय मानिसलाई यात्राको क्रममा यो समस्या आउँछ किनभने उनीहरुको मस्तिष्कलाई यस्तो समयमा नाक, कान, छाला र आँखाबाट विभिन्न संकेतहरू प्राप्त हुन्छन्। यो संकेत प्राप्त हुनेबित्तिकै उनीहरुको स्नायु प्रणाली भ्रमित हुने वैज्ञानिकहरुको विश्वास छ। जसका कारण मस्तिष्कले तत्काल अवस्था बुझ्न सक्दैन र मोशन सिकनेसका लक्षणहरू आउन थाल्छन्।
मोशन सिकनेसका लक्षण
-छाला पहेंलो हुनु
-चिसो पसिना आउनु
-चक्कर आउनु
-मुखमा अत्याधिक र्याल आउनु
-स्वासप्रस्वासमा समस्या हुनु
-टाउको दुख्नु
-धेरै निद्रा आउनु
-धेरै थकाइ लाग्नु
मोशन सिकनेस कति सामान्य?
मोशन सिकनेस हुनु सामान्य कुरा हो। यो बस, ट्रेन, कारदेखि उडान र जहाज यात्रा गर्दा हुन सक्छ। युएस नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार हरेक तीनजना मध्ये एकजना यसबाट पीडित हुन सक्छन्। पुरुषको तुलनामा महिलामा यो समस्या बढी हुने गरेको छ। यो प्रायः गर्भावस्था र महिनावारी को समयमा हुन्छ।
माइग्रेनका रोगीमा मोशन सिकनेस हुने सम्भावना पनि बढी हुन्छ। साथै, मोशन सिकनेसको बेला माइग्रेन हुने सम्भावना हुन्छ। मोशन सिकनेस ३ देखि १२ वर्षबीचका बालबालिकाहरूमा बढी हुन्छ। उमेर बढ्दै जाँदा यसमा कमी आउँदै जान्छ।
मोशन सिकनेसबाट बच्न अपनाउनुस् यी टिप्स
खाली पेटमा यात्रा नगर्नुहोस् – यात्रा गर्नुअघि केही नखाँदा बान्ता हुन सक्छ। चक्कर पनि लाग्न सक्छ। सधैं राम्रोसँग खाना खाएपछि मात्र यात्रा गर्नुहोस्।
पछाडिको सिटमा नबस्ने – बस जस्ता सवारीसाधनमा पछाडिको सिटमा बस्दा गति बढी हुने अनुभव हुन्छ, जसले गर्दा मोसन सिकनेस हुन्छ।
यात्राको क्रममा भीडभाडबाट टाढा रहनुहोस् – भीडभाड भएको सवारी साधनमा यात्रा गर्दा तपाईंलाई मोशन सिकनेसको समस्या हुनसक्छ।
यात्रा गर्दा किताब नपढ्नुहोस् – यात्राको क्रममा कुनै पनि कुरा पढ्दा दिमागमा भ्रम उत्पन्न हुन्छ, जसले मोशन सिकनेसको समस्या निम्त्याउन सक्छ।
ल्वाङ्ग, कागती, तुलसी साथमा राख्नुहोस् – बान्ता र यात्राको उकुसमुकुसबाट बच्नको लागि भुटेको ल्वाङ्ग खान सक्नुहुन्छ। यात्राको क्रममा तुलसीको पात चपाउनु पनि राम्रो उपाय हो। कागती-पुदिनाको पानी साथमा राख्नुस्। यस्तै पाकेको कागतीको बोक्रा पनि सुँघ्न सक्नुहुन्छ।