बीमा र डाक्टर

ओहो! आज त गज्जबको दिन परेछ। सजिलो दिन। आनन्दको दिन। तर, उराठलाग्दो दिन। भन्छन् नि कस्तो ‘बोरिङ’ दिन। सुरुदेखि नै औषधि सार्दै बस्दै छु। अल्छी लागेको दिनमा त निकै सजिलो हुन्छ, लेखनदासको काम। दिमाग नै लगाउन नपर्ने काम। फलानो-फलानो होल बडि चेक अप, औषधि लेख्ने र सिफारिस गर्ने। जनताको इच्छा त्यस्तै छ त अल्छी मान्न पनि भएन।

सेवाग्राही भन्छन् , ‘फलानो-फलानो औषधि लेख्न आएको। बिरामी घरमा हुनुहुन्छ। उता मेडिकल कलेज रेफर गर्दिन सिग्नेचर गराउन आएको।’

म सोध्छु, ‘रोग के हो नि?’

रोगको नाम त थाहा हुन्न। प्रेसर, सुगर, नशाको रोग, मुटुको रोग, कलेजोको रोग, किड्नीको रोग आदि लेख्दै सिफारिस गर्दै। लेख्दालेख्दै यस्सो बसेको कुर्सीमा आफै चिप्लिन्छ। कुर्सी सार्न खोज्छु। सर्दैन। पुरै चक्का जाम भएको हुन्छ। घुम्ने कुर्सी त अर्को जुनीमा फेला पर्ला सरकारी अस्पतालमा। बस्ने कुर्सी पनि अल्छी लाग्दो, काम पनि अल्छि लाग्दो। तर, अल्छी मान्न चाहिँ पाइन्न है!

अस्पतालमा अचेल भिडभाड देखिन्छ। सरकारी अस्पताल भिड हुनु भनेको सुखद समाचार हो। सरकारले जनता आकर्षण गर्न सफल भयो भनेर बुझ्नुपर्ने त होला। त्यो भिडमा वास्तविक रोग, निर्मित रोग, फुर्सदको रोग, निदान नभएको रोग , भेटिहालौं रोग सबैको मिश्रण हुन्छ। वास्तविक रोग अर्थात समस्याको नाम भएको रोग। जस्तै प्रेसर, दम, मधुमेह, हाडजोर्नी, बाथको रोग आदि। यी रोगहरु वास्तविक हुँदा जाँच पनि समय-समयमा गर्नुपर्ने रोग हुन्। तर अचेल यो रोगमा एउटा रोग मिसिएको छ – बीमा रोग। बीमा गरेको हुनाले हरेक पटकको भेटघाटमा सम्पूर्ण जाँच दोहोर्याउन पर्ने रोग। डाक्टरलाई रोगको उपचार अनुक्रम मिलाउनका निम्ति चाहिने भन्दा बढी रगतको जाँच। किनकि बीमा गरेको छ नि त!

निर्मित रोग पनि प्रचुर भेटिन्छ। ज्यान चसक्क गर्यो। एकपटक हाछ्यु आयो। यता दुख्यो उता दुख्यो। खोज्दै जाँदा अन्त्यमा मन दुखेको हुन्छ। रगत जाँचमा नदेखिने रोग। वास्तवमा ‘होल बडी चेकअप’ को रोग हो। यो सबै गर्न पाए शरीरको इन्जिन कहाँ बिग्रिन लागेको छ भन्ने थाहा पाइन्छ भन्ने भ्रम व्याप्त छ। किनकि बीमाबाट सबै भइहाल्छ। समय-समयमा चिकित्सकलाई भेटेर आधारभूत जाँचहरु गर्नु मुनासिब नै हुन्छ। दीर्घकालीन रोगहरु लामो समयदेखि लुकेर बसेका हुन सक्छन्। तर, जनतामा एचआइभी संक्रमित लुकेको छ भनेर सबै पत्ता लगाउने भनेर पूरै जनसंख्याको परीक्षण त गरिन्न नि! किनकि, श्रोत व्यवस्थापन पनि एउटा महत्त्वपूर्ण पाटो हो। अहिले मानसिक बजारमा व्याप्त ‘होल बडी चेकअप’ भनेको एउटा भ्रम हो। व्यापारिक मायाजालको शब्द हो। टेस्ट हेरेर उपचार गर्ने कि बिरामी हेरेर उपचार गर्ने आफै निर्क्यौल गर्नुहोला।

फुर्सदको रोगको टिकेट पनि राम्रै भेटिन्छ। यो ‘होल बडी चेकअप’को अर्को रोग हो। यसमा नितान्त फुर्सद निकालेर सम्पूर्ण मुटुदेखि किड्नीसम्म सबै जाँच्ने भन्दै आउने स्वस्थ मानिएका व्यक्तिहरुको भिड हो। आफ्नो स्वास्थ्यप्रति सजग हुनु निकै खुसीको कुरा हो। कहिलेकसो समस्या पनि भेटिन्छन्। समस्या देखिए पनि तत्काल केही गर्न नपर्ने खालको समस्या हुन सक्छ। रिपोर्टमा कालो अक्षरले लेख्दाबित्तिकै वित्यास नै पर्यो कि भन्ने पर्छ धेरै जनालाई। बुझ्नुपर्ने कुरा के हो भन्दा सबै कालो बोल्ड अक्षरमा लेखिँदैमा रिपोर्ट खराब हुँदैन। व्यक्तिको लक्षणसँग दाँजेर हेर्नुपर्ने हुन्छ। सम्पूर्ण शरीर चेकजाँच गर्नु भनेको अनावश्यक चिन्ता निम्त्याउने फुर्सदका रोग हुन्।

स्वास्थ्यको चेतना बढ्नु र स्वास्थ्यको पहुँच बढ्नु निकै नै खुसीको खबर हो। तर, वास्तवमै रोग लागेर बीमाको चेकजाँच गर्न कति आउँदा रहेछन् भनेर एउटा अध्ययन गर्नु निकै जरुरी देखिन्छ। १ लाखको बीमा गर्न ३५०० तिरेको हुन्छ। तर व्यक्तिले त्यो १ लाख नै पूरै १ वर्षमा सक्नुपर्छ भन्ने सजिलो सोचले गर्दा बारम्बार चेकजाँच गरिनु पनि मुनासिव हुँदैन। चिकित्सकको हकमा भने चाहिएको बेलामा ल्याब जाँच गराउन निर्धक्क लेख्न पाइन्छ। बिरामीले पैसा तिरेर जाँच गराउन भन्नू भनेको फलामका चिउरा चपाउनु सरह नै हुन्छ। त्यसैले बीमाले चिकित्सकका कलम नरोकिने गरी ल्याब गर्न भन्न सकिन्छ। बिरामीहरुको विश्वास हो या नजिकको तिर्थ हेला हो। आफ्नो नजिकको अस्पतालमा कार्यरत चिकित्सकले विशेष किसिमका ल्याब जाँच गर्न भन्दा दश हात पर सर्छन्। तर, त्यही चेकजाँच काठमाडौंमा भने मज्जाले गर्छन्। सायद विश्वास जित्न नसक्नु स्थानीय अस्पतालको कमजोरी होला। बिरामीको स्वभाविक अविश्वास पनि होला।

बीमाले जनतालाई राम्रो सेवा दिएको कुरा पूर्ण सत्य हो। बृद्ध अवस्थामा देखिने अधिकांश रोगहरुको औषधि बीमाबाट उपलब्ध हुनु नै स्वास्थ्य क्षेत्रको सहज पहुँचको उदाहरण हो। तर, यस प्रक्रियामा थपिएको फुर्सदका रोगको भार थेग्न सकिन्छ भन्ने लाग्दैन। त्यस्ता प्रकारका रोगले हुने भिडमा ध्यान दिनुपर्ने बिरामी छुट्ने हुन् कि भन्ने पीर सधैँ रहने भयो। ती गरिने चेकजाँचहरुमा केही प्रतिशत शुल्क लिने व्यवस्था भएमा वास्तविक रोगहरु छानिएर अस्पताल आइपुग्थे भन्ने सहज अनुमान हो। नभए त टाठाबाठाले जबरजस्ती १ लाख नै सिध्याउन पर्छ भन्ने सोचले बीमाको उपयोग गर्न खोज्नु बीमाको सिद्धान्तविपरीत हुन्छ।



Leave a Reply

Your email address will not be published.