फेरि बदली तथा हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु-कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने छ। देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ। विगत दुई दिनदेखि बिहानैबाट घाम लागेको भए पनि आज घाम नलागेकाले केही चिसो महसुस गरिएको छ। बदली, हुस्सु-कुहिरो तथा हिमपातले चिसो बढ्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।