कोभिड रोकथामका लागि स्मार्ट हेल्थ डेस्क स्थापना

हेल्थपोस्ट नेपाल

डोटी – डोटी जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि बढी भीडभाड हुने तथा प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा स्मार्ट हेल्थ डेस्क स्थापना गरिएको छ। दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो।

उक्त डेस्कमा कोभिड–१९ परीक्षण, कोरोनाविरुद्ध खोप सेवा, परामर्श सेवा उपलब्ध गराइएको नगरप्रमुख मञ्जु मलासीले बताइन्। उनले भनिन्, ‘जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएकाले यहाँको बढी भीड हुने क्षेत्रमा हामीले स्मार्ट हेल्थ डेस्क स्थापना गरेका छौं, डेस्कबाट कोरोनासम्बन्धी सम्पूर्ण सेवा दिइनेछ।’

‘कोभिड–१९ विरुद्धको खोप समयमै लगाऔं, थप जटिलता हुनबाट बचौं र बचाऔं’, भन्ने मूल उद्देश्यका साथ उक्त हेल्थ डेस्क स्थापना गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए। जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि कम्तीमा पनि ७४ खोप केन्द्र स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा अहिले २०० भन्दा बढी कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.