यसकारण आजीवन अविवाहित रहिन् लता मंगेशकर

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार निधन भयो। निधन हुँदा उनी ९२ वर्षकी थिइन्। हजारौं गीतमा आवाज दिएकी लताको निजी जीवन भने अनौठो रह्यो। उनी जीवनभर अविवाहित नै रहिन्।

सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले सानै उमेरमा घरको सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्दा बिहे गर्नेबारेमा सोच्ने मौका नपाएको बताउने गर्थिन्। उनी अक्सर सिउँदोमा सिन्दूर लगाउँथिन्। यसबारे उनको जवाफ हुन्थ्यो–मैले संगीतसँग बिहे गरिसकेँ।

८२ वर्षको उमेरमा सन् २०१२ मा दिएको एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘घरका सबै सदस्यको जिम्मेवारी ममाथि थियो। यस्तोमा बिहेको सोचाई मनमा आए पनि व्यवहारमा उतार्न सक्दिनथेँ। सानै उमेरमा म संगीतमा होमिएकी थिएँ। म धेरै व्यस्त रहन्थेँ।’

उनी १३ वर्षको हुँदा सन् १९४२ मा उनका संगीतकार पिता दिनानाथ मंगेशकरको निधन भएको थियो। त्यसपछि उनमा आफ्नो सांगीतिक करिअरलाई अघि बढाउँदै आफ्ना ५ भाइबहिनीलाई हुर्काउने जिम्मेवारी आएको थियो।

उनले अन्तर्वार्तामा भनेकी थिइन्, ‘जीवनमा जे हुन्छ, सबै राम्रोका लागि हुन्छ, र जो हुँदैन, त्यो पनि राम्रैका लागि हुन्छ। किन बिहे भएन भन्ने प्रश्न ५ दशकअघि सोधिएको भए सायद अर्कै जवाफ हुन्थ्यो होला। तर आज मसँग यस्तो विचारका लागि कुनै स्थान छैन।’

तर उनले बिहे नगर्नुको वास्तविक कारण अर्कै थियो, जसका बारेमा उनले औपचारिक रुपमा सञ्चाारमाध्यमसँग कहिल्यै कुरा गरिनन्।

उनी आजीवन अविवाहित नै बस्नुमा कारण थिए–राजस्थानको डूंगरपुर राजघरानाका राज सिंह नाम गरेका व्यक्ति। सन् १९३५ को १९ डिसेम्बरका दिन डूंगरपुर राजघरानामा जन्मिएका राज सिंहको मित्रता लताका भाइ हृदयनाथसँग थियो। दुवै सँगै क्रिकेट खेल्थे।

अलि ठूलो भएपछि राज सिंह पढ्नका लागि मुम्बई गए। त्यहाँ उनको भेट पूराना साथी हृदयनाथ र लतासँग भयो। हृदयनाथसँग उनी घरमा आउजाउ गर्थे। समयक्रमसँगै उनको लतासँग गहिरो सम्बन्ध भयो।

तर दुवैको बिहे भने भएन। सामान्य घरानाकी युवतीलाई बुहारी बनाएर भित्र्याउन उनका बाबुआमा सहमत भएनन्। के पनि भनिन्छ भने–राज सिंहले बाबुआमासँग सामान्य परिवारकी युवतीलाई बुहारी बनाएर नल्याउने वाचा गरे। अनि, आजन्म अविवाहित रहेर लतालाई नै प्रेम गरिरहने कसम खाए। लताले पनि यही कसम खाएर जीवनभर अविवाहित रहिन्।

सन् २००९ मा राज सिंहको निधन भयो। बाबुआमालाई दिएको वचनअनुसार अविवाहित रहेरै उनले संसार छाडे। लतालाई अति नै मन पराउने उनी सधैं लताका गीत सुन्थे। प्रेमी राज सिंहको आग्रहमा लताले डूंगरपुरमा सामाजिक भवनसमेत बनाइदिएकी थिइन्।

राज सिंह १६ वर्षसम्म राजस्थान रणजी क्रिकेट टिमको सदस्य रहे र वर्षौसम्म भारतीय क्रिकेट बोर्डसँग पनि सम्बन्धित रहे। भारतीय क्रिकेट टिमका लागि पनि उनले म्यानेजरको भूमिका निभाए।

चाहने अरु पनि थिए

लताका लागि चाहने अरु पनि थिए। बिबिसीसँगको एक अन्तर्वार्तामा उनले किशोर कुमारले पनि आफूलाई मन पराउने गरेको खुलासा गरेकी थिइन्। कैयौं पटक त किशोर कुमार लताको पिछा गर्दै स्टुडियोसम्म जान्थे। तर यो कुरा उनलाई मन पर्दैनथ्यो। अनि उनले यसबारे उजुरी गरिन्। आफूलाई पिछा गर्ने व्यक्ति किशोरकुमार नै थिए भनेर उनलेपछिमात्र थाहा पाइन्।

भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा



Leave a Reply

Your email address will not be published.