नर्स सारिकाको अनुभव : निकै पीडादायी थिए लता मंगेशकर दिदीका लागि ती दुई दिन

हेल्थपोस्ट नेपाल

काठमाडौं – लता मंगेशकरको अन्तिम क्षणमा हेरचाह गर्ने नर्स सारिका देवानन्द भिसेले उनको निधन हुनु दुई दिनअघिका दिन मंगेशकरका लागि निकै पीडादायी भएको बताएकी छन्। समाचार एजेन्सी पिटिआईसँगको कुराकानीमा उनले सो कुरा खुलाएकी हुन्।

लता मंगेशकरले ९२ वर्षको उमेरमा गत आइतबार यस संसारबाट बिदा भएकी थिइन्। उनी पछिल्ला केही सातादेखि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना थिइन्। उनकी नर्स भिसेले भनिन्, ‘जब लतादिदीले अन्तिम सास फेरिन्, म उहाँसँगै थिएँ।’

लन्ता मंगेशकरका भाइ हृदयनाथले आइतबार साँझ शिवाजी पार्कमा उनको चितामा दाहसंस्कार गर्दा उनकी नर्स सारिका देवानन्दलगायत हजारौं आँखा भिजेका थिए। २०१५ देखि लता मंगेशकरसँग काम गरिरहेकी भिसेले भनिन्, ‘दिदीले सधैं आफूभन्दा पहिले हाम्रो बारेमा सोच्नुभयो। हामीले उहाँलाई धेरै माया गर्थ्यौं र उहाँलाई धेरै मिस गर्दैछौं।’

भिसेका अनुसार पछिल्लो दिनमा पनि लता मंगेशकर बोलिरहेकी थिइन्। उनले भनिन्, ‘भेन्टिलेटरमा हुँदा पनि उनले हामीलाई चिनेकी थिइन्। हामीले ठट्टा गर्दा जवाफ दिइरहेकी थिइन्। तर पछिल्ला दुई–तीन दिनदेखि उनी एकदमै मौन भइन्।’

पीडादायी थिए ती दुई दिन

भिसेले लता मंगेशकरको अन्तिम दुई दिन ‘भयानक’ रहेको बताइन्। डाक्टरहरुले उनलाई बचाउन निकै प्रयास गरे। भिसेले भनिन्, ‘कोभिड–१९ र निमोनियाका कारण उनको फोक्सोमा समस्या देखिएको थियो। उनी यसबाट निको भइन् तर उनलाई फेरि भाइरल इन्फेक्सन भयो र फोक्सोमा निमोनियाको दाग देखा पर्‍यो। उनको अक्सिजन सेचुरेसन घट्यो र उनलाई फेरि भेन्टिलेटरमा राख्नुपर्ने भयो।’

मंगेशकर २९ दिनसम्म अस्पतालमा रहिन् र यस क्रममा सारिका भिसे लगातार उनको साथमा थिइन्। अन्तिम समयमा चिकित्सकहरुले बचाउन खोज्दा परिवारका सदस्यहरु कोठाबाहिर थिए तर भिसे र अर्की स्टाफ नर्स अश्विनी उनीहरुसँगै कोठामा थिए।

भिसेले भनिन्, ‘शनिबार उनको पिसाब रोकिएको थियो जसका कारण उनको मिर्गौलामा असर परेको थियो। हामीले उनलाई दुई पटक डायलासिसका लागि लग्यौं तर उनले कुनै प्रतिक्रिया दिइरहेकी थिइनन्। बिहान ८ बजेर १२ मिनेटमा (भारतीय समय) उनले अन्तिम सास लिइन्।’

यसअघि जब उनको भेन्टिलेटर हटाइएको थियो, भिसे र अन्य नर्सहरूले लता मंगेशकरलाई ह्वीलचेयरमा राखेर पूरै अस्पताल घुमाएका थिए। उनी भन्छिन्, ‘त्यसपछि हामीलाई लागेको थियो हामीले उनलाई बचाउन सफल भयौं, छिट्टै उनलाई घर लैजान्छौं। तर, त्यसको केही समयपछि फेरि उनको अवस्था निकै खराब भयो।’

लता मंगेशकरको आइतबार साँझ अन्त्येष्टि गरिएको छ। यसअघि उनलाई फिल्म जगत र अन्य क्षेत्रका धेरै चर्चित व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। लता मंगेशकरलाई विश्वभरका धेरैले श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन्।



Leave a Reply

Your email address will not be published.