आजदेखि पूर्णरुपमा हट्यो जोर-बिजोर, फागुन १ गतेदेखि शैक्षिक संस्था सञ्चालनका लागि सिफारिस

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौँ उपत्यकामा लगाइएको जोर-बिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि सम्पूर्ण निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन्। आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेका थिए।

नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरिएको थियो। सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत साताबाट हटाइए पनि निजी सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली भने आजदेखि हटाइएको हो ।

बैठकले सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न पनि आग्रह गरेको छ।‘सिट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने, मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजर व्यवस्था गर्नुपर्ने,’ आइतबार जारी सूचनामा भनिएको छ, ‘चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई नि:संक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन पाइनेछैन।’

यसैबीच, कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले फागुन १ गतेदेखि शैक्षिक संस्थाहरूसमेत सञ्चालन गर्न सिफारिस गरेको छ। सोही दिनदेखि रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालनका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्राललाई सिफारिस गरिएको छ।

डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्ने आवश्यक व्यवस्थाका लागि गृह मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरिएको छ।

विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न सिफारिस गरिएको छ भने १२ वर्ष पूरा भएका विद्यार्थीका हकम नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरिएको छ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एकपटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्थाका लागि सरकारलाई केन्द्रले सिफारिस गरेको छ। खोपकार्ड हराएकाहरूलाई त्यसको प्रतिलिपि सहज ढङ्गले उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरिएको छ।



Leave a Reply

Your email address will not be published.