आइतबारदेखि मौसममा सुधार आउने

हेल्थपोस्ट नेपाल

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ। अपरान्हपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ। प्रतिकूल मौसमकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ। ‘भिजिबिलिटी’ कमजोर हुँदा आइएफआर प्रविधिबाट उडान भइरहेको छ।

महाशाखाको मौसम बुलेटिन अनुसार आज देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भू-भागका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। रातिको समयमा पनि प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईका भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेको छ। आइतबारदेखि मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ। आइतबार देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ।

देशभर वर्षा तथा हिमपात हुँदा चिसो बढेको छ। चिसोबाट बच्न पनि महाशाखाले अनुरोध गरेको छ।



Leave a Reply

Your email address will not be published.