स्वास्थ्यमन्त्री र डा. केसीबीच भेटवार्ता : मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्न माग

हेल्थपोस्ट नेपाल

काठमाडौं – डा. गोविन्द केसी र स्वास्थ्य मन्त्री बिरोध खतिवडाबीच आज भेटवार्ता भएको छ। भेटमा सरकारसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न र स्वास्थ्य सेवा गुणस्तरीय, नि:शुल्क, सर्वशुलभ र सबैको समान पहुँचमा पुगाउने व्यवस्था गर्नको लागि डा. केसीले ७ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन्।

ज्ञापन पत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्न, देशभरीका स्वास्थ्य चौकीदेखि प्रदेश र केन्द्रीय अस्पतालसम्म स्वास्थ्य सेवा ऐनमा उल्लेख भएअनुरुप नियमित रुपमा नि:शुल्क औषधि उपलब्ध गराउन, देशभरका स्वास्थ्य केन्द्र र अस्पतालहरुको निर्माण, सतरोन्नती र गुणस्तर वृद्धि गर्न माग गरिएको छ।

यस्तै आपराधिक पृष्ठभूमिका व्यक्तिले चलाइरहेका नोबेल मेडिकल कलेज र काठमाडौं कलेज तथा अरु कलेजहरुमा समेत विद्यार्थीबाट अवैधरुपमा अतिरिक्त लाखौं रुपैयाँ असुल्ने प्रयास अझै जारी रहेको भन्दै दोषी मेडिकल कलेज सञ्चालकमाथि कारबाही गर्न, नेपाल मेडिकल काउन्सिलमा बसेर पदीय मर्यादाविपरीत स्वार्थ समूहहरुको काम गर्ने तथा स्वार्थको द्वन्द्व भएका व्यक्तिलाई पदमुक्त गरी निष्पक्ष व्यक्तिलाई नियुक्त गर्न पनि माग गरिएको छ।

साथै माग पूरा नभएमा थप संघर्षको कार्यक्रम गरिने पनि डा. केसीले मन्त्री खतिवडालाई चेतावनी दिएका छन्।



Leave a Reply

Your email address will not be published.