‘इच्छा मरण’को एक निवेदनले भारतमा मच्चायो सनसनी

हेल्थपोस्ट नेपाल

नयाँदिल्ली – गत वर्ष नोभेम्बरमा अनिरा कबिर जागिरका लागि दुई महिनाबीच दिएको १४औँ अन्तर्वार्तामा टोपी, अनुहार लुकाउने मास्क र पुरुषका पहिरन लगाएर सहभागी भइन्।

३५ वर्षीय यी पारलैंगिक महिलाको भनाइमा उक्त कदम त्यसअघिका अन्तर्वार्तामा सामना गर्नुपरेका पारलैंगिक व्यक्तिप्रति हेय भाव राखेर गरिने टिप्पणीबाट उत्पन्न निराशाको परिणाम थियो। उनले दक्षिणी भारतीय राज्य केरलाको सरकारी विद्यालयमा आंशिक कर्मचारीका रूपमा जागिर पाइन्।

तर, त्यहाँबाट पनि दुई महिनाभन्दा कम समयपछि आफूलाई अन्यायपूर्ण तरिकाले बर्खास्त गरिएको उनको आरोप छ। उक्त विद्यालयका प्रधानाध्यापकले यसबारे टिप्पणी गर्न अस्वीकार गरे। जिल्ला अधिकारी पी कृष्णनले ती प्रधानाध्यापकसँग उक्त मामिलालाई लिएर कुराकानी गरेको बताएका छन्।

विद्यालयका प्रधानाध्यापकले कबिरलाई बर्खास्त नगरिएको बरु परिस्थितिलाई ती पारलैंगिक महिलाले गलत अर्थमा लिएको जानकारी दिएका छन्। अन्य कुनै विकल्प नभएपछि जनवरीमा कबिरले उक्त राज्यको कानूनी सहायता सेवाको ढोका ढकढक्याइन्।

उनी एक वकिलमार्फत इच्छा मृत्युको निवेदन दिन चाहन्थिन्। कबिर भन्छिन्, ‘म काम गरेर जीविकोपार्जन गर्न चाहन्थेँ। तर, त्यसो गर्न पनि असम्भव भयो।’

उनले इच्छा मृत्युलाई अनुमति दिने देशहरूबारे पढेकी थिइन्। तर, भारतले अप्रत्यक्ष इच्छा मृत्युलाई मात्र अनुमति दिन्छ। ‘मैले कानूनी अनुमति पाउने छैन भन्ने मलाई थाहा थियो। तर, म सन्देश प्रवाह गर्न चाहन्थेँ,’ उनी भन्छिन्।

खासमा, उनी राज्यको ध्यानाकर्षण गर्न चाहन्थिन् र त्यसो गर्न उनले सफलता पनि पाइन्।
सरकारले उक्त मामिलामा तुरुन्तै कदम चाल्यो र अहिले उनले अर्कै एउटा जागिर पाइसकेकी छन्।

विरोध र प्रतिज्ञाहरू

आफ्नो ज्यान लिने उनको कुनै चाहना थिएन, न त जे गरिन् । त्यो अरूका लागि उदाहरण होस् भन्ने उद्देश्य नै थियो। त्यो कुरामा कबिर स्पष्ट छिन्।

विरोधका यस्ता नाटकीय रूपहरू भारतमा असामान्य भने होइनन्।

वर्षौंदेखि न्याय वा प्रणालीगत सुधार खोज्ने भारतीयहरूले भोक हडताल गरेका छन्, कैयौँ दिन कम्मरसम्म पानीमा डुबेर उभिएका छन् र मुखमा जिउँदो मुसासमेत राखेका छन्।

समाजशास्त्रीहरूको बुझाइमा यस्ता विरोधका शैलीले महात्मा गान्धिको अहिंसात्मक अवज्ञाको विरासतलाई थामेका छन्।

हैदरावाद विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गर्ने अनघा इंगोले कबिरले गरेका जस्ता कार्यहरूले सरकारलाई आफ्ना वाचाहरू पूरा गर्न असफल भएको स्मरण गराउने बताइन्। ‘यो घटनामा नागरिकको काम गर्ने अधिकार रक्षा गर्नुपर्ने आफ्नै औपचारिक वाचाबाट राज्य चुक्यो,’ इंगोले भनिन् ।

उनले सामाजिक भेदभावका मुद्दाहरूमा धेरै काम गरेकी छन्। भारतमा करिब २० लाख पारलैंगिक मानिसहरू रहेको अनुमान छ। यद्यपि अधिकारकर्मीहरू यो संख्या अझै बढी हुनसक्ने बताउँछन्।

सन् २०१४ मा भारतको सर्वोच्च अदालतले पारलैंगिक व्यक्तिहरूको पनि अन्य लिंगका मानिसहरूको जस्तै अधिकार भएको भन्ने आदेश दिएको थियो। तर उनीहरूले शिक्षा र स्वास्थ्य सेवामा पहुँच पाउन अझै संघर्ष गरिरहेका छन्। धेरै अहिले पनि भिख मागेर वा यौन कार्यका माध्यमबाट जीविकोपार्जन गर्न बाध्य छन्।

कबिर पारलैंगिक समुदायलाई राजनीतिक प्रतिनिधित्व र रोजगारीका लागि आरक्षित कोटा चाहिने बताउँछिन्। उनले भनिन्, ‘म यस्तो कडा कदम चाल्न चाहन्न थिए तर मसँग अरू उपाय नै के थियो त?’

आफैँ बन्ने कोशिसको लडाइँ

मध्य केरलाको पलक्कड जिल्लामा हुर्केकी कबिरले जन्मका बेला आफूले पाएकोे लिंग पहिचानलाई परिवर्तन गरी आफ्नो वास्तविक लिंगबारे जानकारी दिन वर्षौं संघर्ष गर्नुपरेको थियो।

उनी आफ्नो परिवारको बारेमा बोल्न चाहन्नन्। उनको भनाइमा उनको परिवार हालै भएको भाइको मृत्युको शोकबाट अझै बाहिर आएको छैन। पलक्कडमा अन्य ट्रान्सजेन्डरहरूलाई खोज्ने प्रयास गर्दा कबिर किशोरी नै थिइन्। तर त्यस्तै एउटा प्रयासमा उनको गिरफ्तारी भयो। त्यसपछि उनी रोकिइन्।

एउटा अखबारमा ट्रान्सजेन्डरको फोटो देखेपछि उनी घरबाट भागेर बैंगलोर शहर पुगेकी थिइन्। त्यहाँ उनले एउटा सहयोगी ट्रान्सजेन्डर समुदाय भेटिन् र उक्त समुदायले उनलाई स्वीकार पनि गर्यो ।

तर उनीहरूको जीवन कठिन थियो। त्यहाँका पारलैंगिक व्यक्तिमध्ये धेरैले लिंग परिवर्तन वा पुनःस्थापित गर्ने शल्यक्रियाका लागि पैसा जुटाउन वर्षौंसम्म भिख मागे।

निराश भएकी कबिर घर फर्किइन्। ‘मैले मेरो परिवारले चाहेको जस्तो जीवन जिउन धेरै प्रयास गरे,’ उनी भन्छिन्।

उनका आसपासका मानिस उनलाई एक पुरुष बनाउन चाहन्थे। त्यसका लागि चुरोट पिउनु, व्यायामशालामा जानु र व्यक्तित्व विकास अन्य कुराहरू गर्नुपथ्र्यो।

तर कसैलाई देखाएर वा बहाना बनाएर उनले आफूलाई दुःखी बनाइनन्।

उनले कडा मेहनत गरेर अध्ययन पनि गरिन्। उनलाई सानैदेखि पढाउने जोश थियो र आफ्नो छिमेकका बच्चाहरूलाई पढाउने गर्थिन्। अन्ततः आफूले चाहेको जीवन बिताउन घर छोडेपछि पनि त्यसलाई उनले निरन्तरता दिइन्।

कबिरले अहिलेसम्म तीनवटा विषयमा स्नातकोत्तर गरिसकेकी छन्। त्यसमा एउटा शिक्षा विषय पनि हो। उनले राज्य स्तरीय एउटा परीक्षामा उत्तीर्ण गरेकी छिन्, जसले उनलाई माथिल्लो कक्षाका विद्यार्थीलाई पढाउन अनुमति दिन्छ।

तर जागिरका लागि दिइएका अन्तर्वार्तामा उनले असहज प्रश्नहरूको सामना गर्नुप¥यो। एकजना अन्तर्वार्ताकारले उनलाई ‘तिमीले कसरी विद्यार्थीलाई यौनिक आँखाबाट हेर्दैनौ भनेर विश्वास गर्ने’ भनेर पनि प्रश्न गरे।

उनी भन्छिन्, ‘मलाई जुन कामको लागि पास गरियो, त्यसका लागि त मेरो योग्यता धेरै माथिको थियो।’

उनलाई अन्ततः समाजशास्त्र विषय पढाउने कनिष्ठ शिक्षकको रूपमा अस्थायी दरबन्दीमा नियुक्ति दिइयो। त्यसपछि उनले आफ्नो लैंगिक वास्तविकता विद्यालयका अधिकारीलाई बताइन्।

‘मैले उनलाई म ट्रान्स महिला हुँ भनेँ र अन्तर्वार्तामा त्यस्तो हुलिया अर्थात पुरुषको भेषमा उपस्थित भएकोमा माफी मागेँ। जागिरविना म भाडा तिर्न पनि नसक्ने अवस्थामा रहेको बताएँ,’ उनले भनिन्।

उनको भनाइमा गत नोभेम्बरमा पढाउन थालेपछि उनले सहकर्मीबाट आउने विभिन्न खाले टिप्पणीको सामना गर्नुप¥यो। तर विद्यार्थीहरूले त्यस्तो गरेका थिएनन्।

कबिरका अनुसार उनलाई गत ६ जनवरीमा अचानक विद्यालय नआउन भनियो। आफ्नो बर्खास्ती नियमविपरीत भएको उनको आरोप छ। जागिर नभएपछि चिन्तित बनेकी उनले विद्यालय नजिकैको एउटा पसलमा गएर काम पनि मागिन्। तर उनले काम पाउन सकिनन्।
त्यसपछि मात्र उनले कानुनी सहायता लिन खोजेकी हुन्। त्यसपछि त्यो समाचार भाइरल बन्यो।

अनि केरलाका शिक्षामन्त्रीले तुरुन्तै त्यसलाई सम्बोधन गर्ने तत्परता देखाए। उनले कबिरलाई भेटे। पलक्कडको एउटा सरकारी कार्यालयमा कबिरले अहिले अर्को अस्थायी जागिर शुरु गरेकी छन्। अरू अझै पनि उनीजस्ता धेरै पारलैंगिक व्यक्तिहरू सहयोगको पर्खाइमा छन्।

न्यायका लागि लामो बाटो

सन् २०१८ मा शानवी पोनुस्वामीले भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई इच्छा मृत्युको माग गर्दै पत्र लेखिन्। अघिल्लो वर्ष उनले एयर इन्डियाले पारलैंगिक कर्मचारी भर्ना गर्ने नीति नभएको भन्दै अस्वीकार गरेपछि देशको सर्वोच अदालतमा निवेदन दिएकी थिइन्।

उक्त विमान कम्पनी र सरकारले महिनौँसम्म उक्त निवेदनको जवाफ दिएनन्। पछि कम्पनीले मुद्दालाई ‘व्यर्थ’ को भन्यो र उल्टै मानहानिको मुद्दा हाल्ने धम्की दियो। त्यसपछि उनले राष्ट्रपतिलाई पत्र लेखिन्। तर त्यसपछि पनि केही परिवर्तन नभएको उनको भनाइ छ। उनले एयर इन्डियाबाट कहिल्यै पनि कुनै प्रतिक्रिया पाइनन्।

एयर इन्डियालाई अहिले निजी कम्पनीले खरिद गरेको छ र जागिर पाउने उनको आशा थप कमजोर बनेको छ। यद्यपि उनले मद्रास उच्च अदालतमा अहिलेसम्म आफूले गरेको कानूनी खर्चको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन्। ‘यदि प्रणाली नै यस्तो छ भने हामी जस्ता मानिसहरू कसरी बाँच्ने?,’ उनी प्रश्न गर्छिन्।

(बीबीसीबाट)



Leave a Reply

Your email address will not be published.