सिभिल हस्पिटलको लापरबाहीबारे मेडिकल काउन्सिलले छानविन गर्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले सिभिल अस्पतालको लापरबाहीका कारण मृत्युवरण गरेका पत्रकार एलबी विश्वकर्माको घटनाबारे छानविन गर्ने भएको छ। श्रमजीवी पत्रकार सङ्घ नेपालसँग काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले के-कति लापरबाही भएको हो सोको विषयमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। छानविनका लागि काउन्सिलको टिमले तत्काल काम थाल्ने अध्यक्ष कोइरालाको भनाइ छ।

टिभी टुडे टेलिभिजनमै कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको थियो। पत्रकार विश्वकर्मालाई सुरुमा उपचारका लागि नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा पुर्याए पनि पैसा नभएका कारण त्यहाँबाट फर्काइएको थियो। पत्रकार सङ्घ/सङ्गठनले समयमै उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको घटनाको न्यायिक छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै आएका छन्। सङ्घले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै सिभिल अस्पतालमा धर्ना दिँदै आएको छ।

सङ्घले सिभिल अस्पतालले आफूखुसी छानविन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल कान्सिलको नेतृत्वमा न्यायिक छानविन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ। सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ। उपचारका लागि सिभिल अस्पताल पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्टविना उपचार नहुने भनेर लापरबाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ।

अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौंमा रही पत्रकारितामा सक्रिय थिए।



Leave a Reply

Your email address will not be published.