भ्याक्सिन फोबिया र भ्याक्सिन मेनिया दुवै खतरनाक प्रवृत्ति हुन्

हामीकहाँ उपलब्ध कोभिड खोप तीन फरक-फरक टेक्नोलोजीले बनाएका हुन्।

१. भाइरल भेक्टर बर्न – कोभिशिल्ड/एस्ट्राजेनेका, जोनसन
२. होल भाइरस टेक्नोलोजी – भेरोसेल
३. एम आरएनए टेक्नोलोजी – फाइजर, मोडेर्ना
भारतमा बनेको खोप कोभ्याक्सिन (नेपालमा आएको छैन) पनि होल भाइरस टेक्नोलोजीबाट बनेको खोप हो।

बुस्टर डोज लगाउँदा पहिलो प्राथमिकता पुरानो खोपको निरन्तरता नै हो। सरकारले पहिले यही सूचना निकालेको थियो। पछि निरन्तरतामा क्रमभंगता गर्ने अर्को सूचना निकाल्यो र भन्यो-पहिले भेरोसिल, फाइजर, मोडेर्ना जे लगाएको भए पनि बुस्टर डोज कोभिशिल्ड/एस्ट्राजेनेकाको लगाउनू। प्रष्ट छ, भेरोसेलको अभाव वा खोप हराएपछि (?) यो निर्णय आएको हो। यो ठूलो बिडम्बनापूर्ण छ।

मिक्सम्याच बारे

एस्ट्राजेनेका/कोभिशिल्ड सबैभन्दा पहिले बजारमा आएको हो। तसर्थ पहिलो डोज विकसित देशमा पनि त्यही लगाइयो। पछि फाइजर र मोडेर्ना आएपछि दोस्रो र बुस्टर डोज फाइजर र मोडेर्ना लगाउने निर्णय भयो। किनकि, ती खोप बढी प्रभावकारी, बढी सुरक्षित र विकसित देशको लगानीमा उत्पादन भएका थिए।

मिक्सम्याच गर्दा फाइजर/मोडेर्नाबाट एस्ट्राजेनेका, भेरोसेलतर्फ उनीहरु फर्किएका छैनन्। उनीहरुलाई अन्य बुस्टर डोजको लागिसमेत फाइजर र मोडेर्नाको ग्यारेन्टी छ।

हामीले के गर्नुपर्थ्यो?

१. पुरानो खोपको निरन्तरताको लागि चीनबाट थप भेरोसेल खरिद गरेर मात्र बुस्टर डोज दिने।
२. एकै टेक्नोलोजी अनुसारको खोप दिने-जस्तै भेरोसेल लगाएका व्यक्तिलाई त्यही टेक्नोलोजीको कोभ्याक्सिन किनेर लगाइदिने, भाइरल भेक्टर बर्न खोप लगाएका व्यक्तिलाई एस्ट्राजेनेका वा जोनसनमध्येबाट लगाइदिने, एमआरएनए खोप (मोडेर्ना र फाइजर) लगाएका व्यक्तिलाई उपलब्धता अनुसार फाइजर वा मोडेर्नामध्ये कुनै एउटा लगाइदिने।
३. मिक्सम्याच गर्ने हो भने र आगामी बुस्टर डोजको प्रत्याभूति हुने हो भने बिल्कुल नयाँ प्रविधिका बढी सुरक्षित र प्रभावकारी एमआरएनए फाइजर र मोडेर्नामध्ये कुनै लगाइदिने।

डब्लुएचओले के भन्छ‍?

डब्लुएचओका अनुसार जुन खोप लगाएको हो त्यही उत्तम हुन्छ। मिक्स र म्याचलाई डब्लुएचओले नीतिगत सल्लाह नदिएको स्पष्ट पारेको छ। तर, मृत्यु र अस्पताल जानबाट रोक्नको लागि फ्रन्टलाइनर वा ६० वर्ष कटेका दीर्घरोगी/एचआइभीलगायत इम्युनोकम्प्रोमाइज्ड रोग भएका व्यक्तिलाई जीवन रक्षार्थ मिक्सम्याच दिन सकिन्छ। तर, उही खोप उपलब्ध नभएको अवस्थामा।

गुगल गरेर वा प्रायोजित रिसर्च पेपर पढेर त्यसैलाई अकाट्य ठान्ने बुद्धिजीवीले आफ्नो ज्ञान, विज्ञान र विवेक प्रयोग गरेर आमनागरिकलाई सुचित गर्नुको साटो अनुवादक बन्ने होडबाजी छ। बुद्धिजीवीको भूमिका प्रतिपक्षीको जस्तो हुनुपर्छ। केही गलत हुँदैछ भने त्यसलाई उजागर गर्नु पर्दछ, रचनात्मक सल्लाह दिनुपर्दछ। सत्ताको प्रिय बन्न भजन नै काफी हुन्छ। खोपको अभाव भएको र महामारीको कडा लहर फैलिएको अवस्थामा अर्को क्याटागोरीको खोप प्रभावकारी र सुरक्षित छ भनेर तद्तद् देशका जनतालाई कन्भिन्स गर्न वायस्ड रिसर्च गराउने प्रचलन पनि हामीले ख्याल गर्नुपर्दछ।

खोप द्वन्दको चपेटामा हामी

खोपमा व्यापार मात्र हैन, राजनीति पनि चर्को छ। चिनियाँ खोपको युरोप/अमेरिका/अष्ट्रेलियाले मान्यता नदिने, चीनले उनीहरुको खोपको मान्यता नदिने, चिनियाँ खोप लगाएका ठाउँमा अमेरिकाले तेस्रो र चौथो मात्राको लागि आफ्नो खोप पठाइदिने लगायतका कामहरु खोपमा समेत आफूसँग आश्रित होउन् भन्ने मनसायले पनि प्रेरित छन्। त्यस्तै खोप कम्पनीको व्यापार अझ चर्को छ। तथाकथित अनुसन्धान गराएर ४-४ महिनामा, ६-६ महिनामा बुस्टर डोज चाहिन्छ भनेर ऋण दिलाउँदै खोप बेच्दै जाने उनीहरुको रणनीति छ। दर्जनौं देशमा चौथो डोज लगाइसके अब पाँचौं र छैठौं पनि लगाउने छन्। हामी त्यो राजनीति र व्यापारको चक्रमा फस्नु हुँदैन। मिसन र कमिसनको चक्र हामीले बुझ्दैनौं। हामीले खोपमा निरन्तरता र हाम्रै अनुसन्धानबाट प्राप्त रिपोर्ट अनुसार मात्र बुस्टर डोज दिनुपर्दछ।

मलाइ लाग्छ, बुस्टर डोज वर्षवर्ष दिनमा दिँदा हुन्छ। स्मरण होस्, पूर्ण मात्रा खोप वा संक्रमणले एन्टिबडीको मात्रा कम देखिए पनि मेमोरी सेलले कोरोना भाइरसलाई चिनेको हुन्छ। जब संक्रमण हुन्छ, उसले तीविरुद्ध एन्टिबडी उत्पादन गर्दछ। तसर्थ पूरा मात्रा खोप लगाएपछि खोप केन्द्र चाहार्नु सबैलाई जरुरी छैन। हामी ७५ प्रतिशत जनता थाहा पाएर वा नपाएर पनि संक्रमित भएका छौं। त्यो नेचुरल एन्टिबडी निकै सुरक्षित र प्रभावकारी हुन्छ। पूरा मात्रा खोप तथा जनस्वास्थ्यका मापदण्डको पालना नै हामीलाई बचाउन पर्याप्त छ। भ्याक्सिन फोबिया र भ्याक्सिन मेनिया दुवै अतिवादी सोच हुन्।

अन्त्यमा आफ्नै कुरा : मैले जुन खोप लगाएको छु हरेक १/१ वर्षमा त्यही खोप लगाउनेछु, मिक्सम्याच गर्ने छैन। र पाइयो भन्दैमा संगिनी सुई लगाएझै ३-६ महिनामा लगाउने छैन।



Leave a Reply

Your email address will not be published.