१७ वर्ष नाघेका र १८ वर्ष नपुगेकालाई खोप लगाउन माग

काठमाडौं – सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन्।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा काठमाडौं महानगरपालिकाले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई यही माघ १५ गतेदेखि कोरोनाविरुद्धको खोप कार्यक्रमअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहलाई सहभागी गराएका छन्। सोही अनुरुप १७ वर्ष पूरा भएका र १८ ननाघेकाले पनि आफूहरुलाई खोप उपलब्ध गराउन माग गरिरहेका काठमाडौं महानगरपालिकाले जनाएको छ।
कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार ती उमेर समूहका लागि पनि कोभिड-१९ विरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रयासमा लागेको बताए। कामपामा ९० सामुदायिक र ५०० भन्दा बढी निजी विद्यालय सञ्चालित छन्। १७ वर्ष पूरा भएका र १८ वर्ष ननाघेका बालबालिकाको सङ्ख्या कामपामा करिब ६ हजार रहेको जनाइएको छ। सरकारले तोकेअनुसारको उमेर समूहका करिब ६५ हजार बालबालिकालाई अहिले छाउनी र थापाथली अस्पतालबाट खोप कार्यक्रम सञ्चालन भइरहेको छ।