भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालगञ्ज – नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित बिरामीको आज बिहान मृत्यु भएको छ। बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताए। उनका अनुसार गत पुस २३ गते भेरी अस्पतालमा पिसिआर गर्दा कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरी उनको उपचार हुँदै आएको थियो। स्वास्थ्य अवस्थामा सुधार नभएपछि उनको आज बिहान मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४७ जना पुगेको छ।

यसैबीच, बाँकेमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ। कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गत पुस २९ गतेदेखि बाँकेका विद्यालय बन्द छन्। लक्षित समूहका बालबालिकालाई खोप लगाउन आज र भोलि दुई दिन विद्यालय खोलिएको छ।



Leave a Reply

Your email address will not be published.