५७ देशमा फैलिसक्यो ओमिक्रोनको खतरनाक बीए.२ भेरियन्ट : डब्लुएचओ

हेल्थपोस्ट नेपाल

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोनको बीए.२ भेरियन्ट निकै संक्रामक भएको र मूल भाइरसभन्दा बढी खतरनाक भएको बताएको छ। हालसम्म ५७ देशमा यसको संक्रमण पुष्टि भइसकेको डब्लुएचओले जनाएको छ। ओमिक्रोन डिसेम्बरमा दक्षिण अफ्रिकामा फेला परेको थियो र दुई महिना भन्दा कम समयमा यसले विश्वलाई आफ्नो कब्जामा लिइसकेको छ।

आफ्नो साप्ताहिक अपडेटमा डब्लुएचओले भनेको छ कि, गत एक महिनामा संकलन गरिएका नमूनाहरू मध्ये ९३ प्रतिशत ओमिक्रोनमा फरकफरक सब भेरियन्ट बीए.१, बीए १.१, बीए.२ र बीए.३ भेटिएका छन्। बीए.१ र बीए १.१ को पहिचान सबैभन्दा पहिले भएको थियो र यसले संक्रमणको ९६ प्रतिशत हिस्सा ओगटेको थियो।

बीए.२ मूल भाइरस भन्दा फरक छ र यसको केसहरूमा स्पष्ट वृद्धि भइरहेको देखिएको छ। डब्लुएचओले भनेको छ, ‘बीए.२ का केसहरू ५७ देशमा रिपोर्ट गरिएका छन्। केही देशहरूमा ओमिक्रोनको कुल केसको आधा यसकै संक्रमण देखिएको छ।’

डब्लुएचओले यी सब-भेरियन्टका बारेमा थोरैमात्र जानकारी उपलब्ध भएको र यिनिहरुका संक्रामक प्रकृति र प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउनसक्ने क्षमताको बारेमा थप अध्ययन गर्न जरुरी रहेको बताएको छ। हालैका धेरै अध्ययनहरूमा बीए.२ मूल ओमिक्रोन भन्दा बढी संक्रामक भएको देखिएको छ।

कोभिड अझै खतरनाक छ

डब्लुएचओका विज्ञ मारिया भान केरखोभले यसबारे धेरै जानकारी उपलब्ध नभए पनि प्रारम्भिक तथ्याङ्कले बीए.१ भन्दा बीए.२ उच्च संकामक भएको बताइन्। सामान्यत: ओमिक्रोन डेल्टा जस्ता पहिले पहिचान भइसकेका भेरियन्टका तुलनामा कम घातक पाइएको छ र यसको लक्षणहरू त्यति गम्भीर नभएका देखिएका छन्। केरखोभले भनिन्, ‘अहिलेसम्म बिए.२ पहिलेभन्दा धेरै गम्भीर भएको कुनै संकेत पाइएको छैन। तर, जुनसुकै भेरियन्ट होस् कोभिड अझै पनि निकै खतरनाक रोग हो र यसबाट हामीले जोगिन आवश्यक छ।’

डा. केर्खोभले अगाडि भनिन्, ‘यो भाइरस अझै फैलिरहेको छ र अझै पनि यसको रूप परिवर्तन भइरहेको छ भनेर हामीले मानिसहरूलाई सचेत गराउनु पर्छ। हामीले सावधानी अपनाउनु धेरै महत्त्वपूर्ण छ र जुनसुकै प्रकार होस् त्यसबाट सुरक्षित रहनुहोस्।’



Leave a Reply

Your email address will not be published.