नक्कली पिसिआर रिपोर्ट बनाउन अस्पतालकै कर्मचारी संलग्न, चारजना पक्राउ

काठमाडौं – प्रहरीले नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको आरोपमा अस्पतालका कर्मचारीसहित चारजना बिचौलियालाई पक्राउ गरेको छ। भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल र काठमाडौं तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिबाट बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर नक्कली बनाइरहेको सूचनाका आधारमा चारजनालाई पक्राउ गरिएको हो।
पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेको भन्दा अत्याधिक बढी रकम लिई स्वाबको नमुनासमेत नलिई बनाउने गरेको भन्ने सूचनाका आधारमा सर्लाहीको बलरा नगरपालिका-७ घर भई हाल भक्तपुर कौशलटार बस्ने २४ वर्षीय नागरिक हस्पिटलका ल्याब प्रबन्धक प्रसन्न कुमार झा, धनुषाको बिदेह नगरपालिका-४ घर भई हाल ललितपुरको ग्वार्को बस्ने २५ वर्षीय रोसन कुमार छिट्टान, धनुषाकै छिरेश्वर नगरपालिका-१ घर भई हाल काठमाडौं गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव र काभ्रेपलान्चोक तेमाल गाउँपालिका-५ घर भई हाल भक्तपुर सूर्यबिनायक-५ सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनालीलाई प्रहरीले पक्राउ गरेको हो।
छिट्टानलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलबाट जारी भएका आठ थान नक्कली पिसिआर परीक्षण रिपोर्टसहित एयरपोर्ट अगाडिबाट पक्राउ गरिएको थियो। यस्तै सोही हस्पिटलबाट ल्याब म्यानेजर प्रसन्न कुमार झा, कान्तिपुर अस्पतालका कर्मचारी नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसिआर रिपोर्टसहित हस्पिटल अगाडिबाट र सोही अस्पतालका ल्याब कर्मचारी माधव मैनालीलाई कार्यस्थलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फरार रहेका दुवै ल्याबका सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा पिसिआर रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरुको खोजतलास कार्य भने जारी रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ। दुबै अस्पतालका पिसिआर ल्याब सिल गरी पिसिआरसम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको र अन्य अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।