फ्रन्टलाइनका लागि ५० हजार मास्क र ३० हजार फेसशिल्ड सहयोग

कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी (फ्रन्टलाइनर)को सहयोगका लागि सेवा इन्टरनेशनल नेपाल र हिन्दू स्वयंसेवक संघ नेपालले नेपाल चिकित्सक संघलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले गर्दै आएको कामको प्रशंसा गर्दै सेवा प्रवाहमा सहज होस भन्ने उद्देश्यले फेस मास्क र फेस शिल्ड उपलब्ध गराएको हो ।

मंगलबार नेपाल चिकित्सक संघमा आयोजित हस्तान्तरण कार्यक्रममा सेवा इन्टरनेशनल नेपालका तर्फबाट अध्यक्ष महेशविक्रम कार्कीले नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीलाई सो सहायता सामग्री हस्तान्तरण गरे।

सहायता सामग्रीमा ५० हजार थान मास्क, ३० हजार थान फेस शिल्ड छ।

हस्तान्तरणअघि पत्रमा संघका कार्यकारी सदस्य डा. प्रमोद जोशी र अध्यक्ष महेश कार्कीले हस्ताक्षर गरेका थिए।

हस्तान्तरणपछि बोल्दै संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक संघ सदस्य चिकित्सकको व्यवसायीक हितका साथै मानवीय सहायताका कार्यमा पनि उत्तिकै सक्रिय रहेको बताए।

उनले भुकम्प, कोरोना महामारीलगायतका मानवीय विपत्तिका समयमा संघले थुपै राहत वितरण एवं सेवा प्रवाह गरेको भन्दै यस्ता मानवीय काममा संघसँग सहकार्यका लागि विभिन्न संघ/संस्थालाई आह्वानसमेत गरे।

सेवा इन्टरनेशनलका अध्यक्ष कार्कीले आगामी दिनमा पनि मानवीय सहायता र उद्दार कार्यमा संघसँग सहकार्य जारी राख्ने प्रतिवद्धता जनाए।



Leave a Reply

Your email address will not be published.