२४ लाख डोज खोप गायब प्रकरण : मन्त्री खतिवडामाथि छानविनको मागसहित अख्तियारमा निवेदन

काठमाडौं – २४ लाख डोज कोरोनाविरुद्धको खोप अनियमितता प्रकरणमा छानविनको मागसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिइएको छ। नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज निवेदन दर्ता गराएको हो।
संघले खोप हिनामिना गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित यस कार्यमा संलग्नमाथि छानविन गरी हदैसम्मको कारबाही माग गरेको छ।
‘नेपाल सरकारका स्वास्थ्य मन्त्री विरोध खतिवडा मन्त्री भइ जिम्मेवारी सम्हालेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिउपर छानविन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरिपाउँ भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम यो निवेदन गरेका छौं।’, निवेदनमा उल्लेख छ।