नेपालगञ्जमा होल्डिङ सेन्टर निर्माणको काम अझै पूरा भएन

हेल्थपोस्ट नेपाल

नेपालगञ्ज – आपतकालिन अवस्थामा नागरिकलाई अस्थायी रुपमा सुरक्षित राख्न नेपालगञ्जमा होल्डिङ सेन्टर निर्माण भइरहेको छ। नेपालगञ्ज उपमहानगरपालिका-१४ स्थित भवानीयापुरमा २९ करोड ३८ लाख २ हजार ८९ रुपैयाँको लागतमा १ हजार बेडको होल्डिङ सेन्टर निर्माण भइरहेक हो।

२०७८ साउनमा निर्माण सम्झौता भएको उक्त होल्डिङ सेन्टर असोज २४ गते सम्पन्न भइसक्नु पर्नेमा अझै हुन सकेको छैन। निर्माण सम्पन्न गर्नका लागि पुस मसान्तसम्मका लागि म्याद थप गरिएको थियो। नेपाली सेनासँगको सहकार्यमा ठेकेदार कम्पनीमार्फत होल्डिङ सेन्टरको निर्माण कार्य सुरु भएको हो।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले होल्डिङ सेन्टर निर्माण कार्य पछिल्लो पटक सन्तोषजनक रुपमा अघि बढिरहेकाले छिट्टै निर्माण सम्पन्न हुने बताए। प्रजिअ खत्रीले भने, ‘सम्भवतः चैत्रसम्म निर्माण कार्य सम्पन्न हुनेछ।’

कोभिड-१९ संक्रमण व्यवस्थापन गर्न होल्डिङ सेन्टर निर्माण सुरु भएको थियो। कोभिड संक्रमितहरुलाई सुरक्षित तरिकाले उपचार गर्न र समुदायस्तरमा संक्रमितहरु सोझै नपुगुन भनेर होल्डिङ सेन्टर निर्माण गरिन लागेको हो। यद्यपि, बाढी तथा डुवान, प्राकृतिक विपतका बेला यो सेन्टर प्रयोगमा ल्याउन सकिने प्रजिअ खत्रीले जनाए।

उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले भने, ‘यतिबेला होल्डिङ सेन्टरका ३ सय बेड सञ्चालनका लागि तयारी अवस्थामा छन्।’

नेपाल भारत सीमावर्ती रुपैडीया-जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरुलाई मध्यनजर गरी यो सेन्टर स्थापना गरिएको हो। पछिल्लो अवधिमा नेपालगन्ज आसपास र बाँकेमा कोभिड-१९ परीक्षण गर्दा करिब ७० प्रतिशतलाई संक्रमण भएको अवस्था छ।



Leave a Reply

Your email address will not be published.