कोरोना संक्रमण भएको शंका लागेमा गर्नुस् यी ६ काम

हेल्थपोस्ट नेपाल

काठमाडौं – कोरोना संक्रमण नेपालमा तीव्र गतीमा बढिरहेको छ। संक्रमणले घरपरिवार पीडित बनाएको छ। कुनै एकजनालाई संक्रमण हुँदा यसले पूरै परिवारला नै संक्रमित बनाउने जोखिम हुन्छ। तसर्थ संक्रमण भएको शंका लागेमा यी ६ कुरा गर्नपर्छ-

१. परीक्षण गर्नुस् – सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, सिगान बग्ने, घाटी दुख्नेजस्ता लक्षण देखिनेवित्तिकै एन्टिजेन वा पिसिआर परीक्षण गराउनुपर्छ। जसले गर्दा तपाईंलाई कोभिड-१९ संक्रमण वा मौसमी रुघाखोकी के हो थाहा पाउन मद्दत पुग्छ।

२. अलग्गै बस्नुस् – संक्रमित व्यक्तिले मुख नछोपी वा मास्क नलगाइ हाछ्युँय गर्दा वा खोक्दा र नजिकै रहेका वा अन्य कुनै तरिकाले सम्पर्कमा आएका स्वस्थ मानिसलाई थुक वा सिगानका छिटा वा र्यालको कणमार्फत संक्रमण सर्ने सम्भावना हुन्छ। त्यसैले लक्षण देखिनेवित्तिकै ५ दिनसम्म होम आइसोलेसनमा बस्नुपर्छ।

३. सम्पर्कमा आएकालाई जानकारी दिनुस् – तपाईंसँग विगत १४ दिनयता नजिकको सम्पर्कमा आएका मानिसहरुलाई तपाईंलाई संक्रमणको शंका लागेको वा संक्रमण पुष्टि भएको फोन गरेर वा सन्देश पठाएर जानकारी दिनुस् र उनीहरुलाई पनि परीक्षण गराउन सल्लाह दिनुस्।

४. लक्षणबारे ख्याल गर्नुस् – सुरुको अवस्थामा कोभिड-१९ संक्रमित व्यक्तिलाई ज्वरो, खोकी, थकान, घाँटी दुख्ने वा झाडापखालाको लक्षण हुन्छ। अनि प्राय: यी लक्षणहरु बढ्दै जान्छन् भन्ने कुरा ख्याल गर्नुहोस्।

५. आराम गर्नुहोस् र शरीरमा पानीको मात्रा कम हुन नदिनुस् – कोभिड-१९ संक्रमण भएको अवस्थामा सबैभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउनु हो। त्यसैले कोभिड-१९ को उपचार गर्ने भनेर प्रचार गरिएका अप्रमाणित औषधिहरु सेवन गर्नु हुँदैन। प्रशस्त मात्रामा तातो पानी र झोलिलो खाने कुरा खानुस्।

६. खोप नलगाएको भए निको भएको एक महिनापछि खोप लिनुस् – कोभिड-१९ बाट पनि मानिसहरुमा भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास हुन्छ। तर पनि त्यसलाई सुदृढ बनाउन कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ने हुन्छ। तर, संक्रमणमुक्त भएको एक महिना‍पछि मात्र खोप लगाउनुहोला।



Leave a Reply

Your email address will not be published.