जनशक्तिका अभावले आइसियु र भेन्टिलेटर थन्किए

हेल्थपोस्ट नेपाल

म्याग्दी – म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) प्रयोगमा आउन सकेको छैन। करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन्।

गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्वसुलभ उपचारको व्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु. १ करोड २५ लाख खर्चेर दुईवटा भेन्टिलेटरसहित पाँच शय्या क्षमताको आइसियु कक्ष स्थापना गरेको थियो।

ती उपकरण प्रयोगविहीन हुँदा बिरामीलाई धेरै पैसा खर्चिएर पोखरा, काठमाडौं पुर्याउनुपर्ने र हेलिकप्टर चार्टर गरेर तत्कालै जिल्लाबाहिर जान नसक्ने गरिब बिपन्नले ज्यान गुमाउनुपर्ने दुखद अवस्था रहेको स्थानीयवासी खम थापाले बताए। ‘तत्कालै आइसियुमा राख्नुपर्ने बिरामीलाई अस्पताल पुर्याउन हेलिकप्टर चार्डर गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘हेलिकप्टर चार्टर गर्न नसक्ने कतिपय बिरामीले एम्बुलेन्स र ट्याक्सीमा पोखरा लैजाँदा बाटोमै ज्यान गुमाउनुपरेको छ।’

दरबन्दी र जनशक्ति नहुँदा उपकरण भए पनि आइसियु चलाउन नसकेको अस्पताल प्रशासनले जनाएको छ। आइसियु कक्ष सञ्चालन गर्न कम्तीमा चारजना मेडिकल अधिकृत, १० जना स्टाफ नर्स, दुईजना परामर्शदाता र चारजना सहयोगी पदका जनशक्ति आवश्यक पर्ने अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले जानकारी दिए। ‘५० शय्या क्षमताका अस्पतालमा हाल रहेका ७ चिकित्सक र करारसहित २४ स्टाफ नर्सलाई नियमित सेवा दिन हम्मे परेको छ,‍’ उनले भने, ‘आइसियु चलाउने हो भने मेडिकल, इमरजेन्सी, ओपिडी कक्ष बन्द गर्नुपर्ने अवस्था छ। आधारभूत सेवालाई प्राथमिकता दिनुपर्यो। आइसियु चलाउने जनशक्तिको दरबन्दी नै छैन। चलाउन नपाएरै उपकरण बिग्रने होकी भन्ने चिन्ता छ।’

गण्डकी प्रदेश सरकार मातहत रहेका ११ वटै जिल्लाका अस्पतालमा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाएर डेढ वर्षअघि नै उपकरण जडान भएका थिए। अतिरिक्त जनशक्ति नभएपछि मौजुदा जनशक्तिबाटै बालबालिका उपचार कक्षको आइसियु कक्षलाई प्रयोगमा ल्याउने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

अस्पतालको सबै शय्यामा प्लान्टबाट पाइपमार्फत अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएको छ। विद्यमान चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा दिन सकिने भएकाले बालबालिका उपचार कक्षको आइसियुलाई प्रयोगमा ल्याउने तयारी गरिएको हो।



Leave a Reply

Your email address will not be published.