काठमाडौं उपत्यकामा थपिए १८२० कोरोना संक्रमित

काठमाडौं–काठमाडौं उपत्यकामा थप १८२० जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर भने ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। १४ हजार ५ सय ६२ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यो शुक्रबारको तुलनामा १ हजार ९ सय २३ ले कम हो। शुक्रबार ६ हजार ८ सय २७ जनामा संक्रमण देखिएको थियो।
यस्तै, संक्रमित पुष्टि हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि भएको छ। शनिबार ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त दर हाल ८९.५ प्रतिशत रहेको छ।
उक्त अवधिमा ६ जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट हालसम्म ११ हजार ७ सय ३ जनाको मृत्यु भइसकेको छ। हाल सक्रिय संक्रमितको संख्या ८७ हजार ३ सय २९ पुगेको छ।