काठमाडौंमा परीक्षण गराएकामध्ये ६० प्रतिशतमा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – काठमाडौं महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस संक्रमण देखिने गरेको बताइएको छ। अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा संक्रमण देखिन थालेको कमपाको भनाइ छ।

कारोना बढेकाले नै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ। अहिले परीक्षण दर पनि बढेको छ। दैनिक झण्डै १ हजारजना कामपामा मात्रै परीक्षण गर्न आउँछन्। संक्रमण बढे पनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आए पनि तयारी अवस्थामा रहेको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार कोरोना महामारीको पहिलो र दोस्रो चरणमा प्रयोग भएका, निःशुल्क सञ्चालन गरिएका आइसोलेसन र क्वारेन्टिन स्थलहरू यस पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा राखिएको छ।

डङ्गोलले भने, ‘हामीले त्यसका लागि गृहमन्त्री, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौं। हामीले नेपाली सेना र अस्पतालहरूलाई तयारी अवस्थामा रहन भनेका छौं। हामी पनि तयारी अवस्थामा छौं। आवश्यक पर्यो भने तुरुन्तै निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्नेछौं,’ उनले भने। महानगरवासीलाई थप केही जटिल भयो भने कामपाको ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लिनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।



Leave a Reply

Your email address will not be published.