चिकित्सा शिक्षा आयोगलाई निशाना नबनाउन स्वार्थ समूहहरुलाई डा. केसीको चेतावनी

हेल्थपोस्ट नेपाल

काठमाडौं – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडीमा भएको आक्रमणमा संलग्नलाई कडा कारबाही गर्न डा. गोविन्द केसीले माग गरेका छन्। केसीले विज्ञप्ति जारी गर्दै आयोगका पदाधिकारीहरुमाथि कायरतापूर्ण आक्रमण गर्नेहरुलाई कानुनको कठघरामा उभ्याउन माग गरेका हुन्।

उनले आयोगको काम कारबाहीमाथि निरन्तर भाँजो हाल्दै आएका विभिन्न स्वार्थ समूहहरु यस खाले आक्रमण गरेको भन्दै उनले भनेका छन्, ‘आफ्नो व्यवसायिक स्वार्थका लागि आयोगको कार्य सम्पादनमा अवरोध ल्याउन खोज्ने अन्य नियामक निकायका पदाधिकारीहरुलाई पदबाट हटाउन र आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।’

डा.केसीले आम नेपाली जनताको प्रयासमा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा सुधार, विपन्नलगायत सबै विद्यार्थीको शिक्षामा समान पहुँच, सबै नेपालीहरुको गुणस्तरीय, नि:शुल्क वा सस्तो र सुलभ स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता गर्न चिकित्सा शिक्षा ऐन जारी भएको बताएका छन्। त्यसैअनुरुप चिकित्सा शिक्षा आयोग गठन भएको भन्दै आयोग र चिकित्सा शिक्षा ऐनको असफलताका लागि मरिमेटेका विभिन्न स्वार्थ समूहहरुले आयोगको काममा भाँजो हाल्ने प्रयास सुरुदेखि नै गर्दै आएका आरोप पनि उनले लगाएका छन्।

आयोगले केही दिनअघि लिएको स्नातकोत्तर तहको प्रवेश परीक्षा रोक्न यस्ता स्वार्थ समुहहरु प्रश्नपत्र बाहिरिएको लगायत विभिन्न अफवाह फैलाएर हरसम्भव प्रयास गरेका आरोप पनि डा. केसीले बताएका छन्।

त्यसरी भाँजो हाल्नेमध्ये आयोगको नियमनका कारण विदेशमा विद्यार्थी तस्करी गर्नबाट वञ्चित समूहहरु मुख्य रहेका उनले बताएका छन्।

‘यो पृष्ठभुमिमा आयोगले लिइसकेको प्रवेश परीक्षाको नतिजा रोक्न तथा विदेशमा पढाइ सुरु गरेका विद्यार्थीहरुलाई कानुनविपरीत नेपालमा पढाउने व्यवस्थाका लागि हाल नाजायज दबाब दिइरहेका सबै पक्षहरुलाई हामी आयोगको कार्य सम्पादनमा कुनै हस्तक्षेप नगर्न कडा चेतावनी दिन चाहन्छौं।’, डा. केसीले भनेका छन्।



Leave a Reply

Your email address will not be published.