कोरोनाविरुद्धको खोप अभियानको एक वर्ष : १ करोड ३७ लाख ३४ हजारले लगाए पूर्ण मात्रा

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपालमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको एक वर्ष पूरा भएको छ। २०७७ साल माघ १४ गतेदेखि अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई कोभिसिल्ड खोप लगाउँदै अभियानको सुरुवात गरिएको थियो।

मन्त्रालयले एक वर्षको अवधिमा हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको जानकारी दिएको छ। यस्तै १ करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्णमात्राको खोप पाएका छन्। एकमात्रा खोप पाउनेको संख्या १ करोड ६४ लाख ५८ हजार ४७५ रहेको छ।

अतिरिक्त डोज अर्थात बुस्टर मात्रा लगाउनेको सङ्ख्या २ लाख ८२ हजार ७२४ रहेको छ।

प्रतिशतमा हेर्दा कुल जनसंख्याको ४५ दशमलव २ प्रतिशतले पूर्णमात्रा लगाएका छन् भने एक मात्रा लगाउनेको संख्या ५४ दशमलव २ प्रतिशत रहेको छ। सरकारले १२ वर्षदेखि माथिको उमेर समूहलाई सरकारले निःशुल्क खोप दिँदै आएको छ।

भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ को १० लाख डोज भारतले नेपाललाई उपहार पठाएको थियो। त्यसपछि उक्त खोप लगाउन सुरु गरिएको थियो।

यसबीच नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० मात्रा खोप नेपाल आएको छ।



Leave a Reply

Your email address will not be published.