विभागअघि नि:शुल्क सिटामोल बाँडिरहेका ‘अन्सारी’

काठमाडौं – काठमाडौंको बानेश्वर–माइतीघर सडकखण्डको बिजुली बजार पुलपारी बानेश्वरतिर जाने बाटैमा औषधि व्यबस्था विभागको कार्यालय छ। विभागअघि हेर्नुभयो भने अचेल सबैको ध्यान तान्ने एउटा दृश्य देखिन्छ। जहाँ ४/५ कुर्सीको बीचमा एउटा ‘राउण्ड टेबल’ राखिएको छ। जुन टेबलमा सिटामोल, मास्क राखिएका छन्।

कुर्सी र टेबलको पछाडिको विभागको पर्खालमा दुईवटा ब्यानर टाँसिएको छ। बाटो भएर हिँड्ने सबैको ध्यान त्यो ब्यानरमा पर्छ। टाँसिएको ब्यानरमा लखिएको छ, ‘निःशुल्क, निःशुल्क, निःशुल्क पारासिटामोल निःशुल्क औषधि वितरण अभियान।’

यो दृश्य देखेपछि सबैलाई लाग्न सक्छ, यो अभियान औषधि व्यवस्था विभागले सञ्चालन गरेको होला। तर, त्यसो होइन। यो अभियान आयन हेल्थ केयर प्रा.लि र अनमोल हेल्थ केयरले सञ्चालन गरेका हुन्।

अभियान कसरी सुरु भयो?

आयन हेल्थ केयर प्रा.लि का अध्यक्ष हुन्, अबुल हुसेन अन्सारी। केही दिनयता औषधि पसलमा सिटामोलको अभाव देखिएको समाचार छ्याप्छ्याप्ती मिडियामा आयो। अन्सारीले यो कुरा सत्य हो कि होइन भनेर बजार बुझे। बजारमा बुझ्दा साच्चिकै सिटामोल अभाव भएको जानकारी उनले पाए।

पछिल्लो समय मौसमी रुघाखोकी, ज्वरो आउने जस्ता लक्षण भएका बिरामीको संख्या बढ्दो छ। रुघाखोकी तथा ज्वरो आउँदा धेरै नेपालीले प्रयोग गर्ने औषधि मध्येको एक औषधी ‘पारासिटामोल’ हो। यस्तो अवस्थामा सिटामोल अभाव भएको र यसले सर्वसाधारणलाई निकै समस्या बढाएको अन्सारीलाई लाग्यो र उनले ‘निःशुल्क पारासिटामोल वितरण अभियान’ सञ्चालन गरे।

बुधबारबाट अन्सारीले सिटमोल निःशुल्क वितरण अभियान सुरु गरेका हुन्। बुधबार ५४० जनाले सेवा लिएको अन्सारीले बताए। सिटामोल लिन कुनै पनि मापदण्ड नतोकिएको अन्सारीले बताए। कसैले सिटामोल आवश्यक परे सहजै रुपमा लिनसक्ने उनले बताए। ‘औषधि व्यवस्था विभाग भन्नासाथ औषधि पाइने ठाउँ हो भन्ने सबैलाई लाग्छ। त्यसैले विभाग अगाडि औषधि वितरण अभियान सञ्चालन गरेँ।’, अन्सारीले भने।

अहिले काठमाडौंबाटमात्र सिटामोल वितरण भइरहेको र चाँडै देशभरका अभाव रहेको ठाउँबाट पनि वितरण गर्ने तयारी भइरहेको उनले बताए। उनले भने, ‘अभाव भएका सबै ठाउँबाट हामीले अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छौं। अभियान भर्खरै सुरु गरेका हौं, अहिलेसम्म कुनै खालको सहयोग आएको छैन्। अभियानका लागि हामी सबैपक्षबाट सहयोग पाउँछौं भन्ने आशा छ।’



Leave a Reply

Your email address will not be published.