प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

वीरेन्द्रनगर – वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ। अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ।
अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरद्वारा उपचार हुनेछ। अस्पतालमा दुई विशेषज्ञ डाक्टरले सेवा प्रदान गर्ने जनाइएको छ। सरकारी स्वामित्वको प्रदेश अस्पतालबाट आँखा रोगसम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो प्रदेश अस्पतालका रुपमा रहेको निर्देशक खड्काको दाबी छ।
प्रदेश अस्पताललाई आँखा रोगसम्बन्धी उपचारका लागि आवश्यक उपकरण खरिदलगायतका पूर्वाधार व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले रु २० लाख बजेट विनियोजन गरेको थियो।