डाक्टरमाथि आक्रमण गर्ने सिके राउतका कार्यकर्तामाथि कडा कारबाहीको माग

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारी चिकित्सक संघ नेपालले जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ।

गत बुधबार सिके राउतका कार्यकर्ताले जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा डा. साहमाथि लाठी र भाटासहित आक्रमण गरेका थिए। आक्रमणबाट डा. साहको टाउकोमा चोट लागेको छ। डा. साहको टाउकोमा आठवटा टाँका लगाउनु परेको छ। उनको अनुहारमा पनि गहिरो चोट लागेको छ। जनमतका कार्यकर्ताले साह सवार सरकारी गाडीमा पनि तोडफोड गरेर क्षति पुर्याएका छन्।

संघले आक्रमणमा सहभागी अपराधीहरुलाई मानव अधिकार हनन, ज्यान मार्ने प्रयास र अत्यावश्यक सेवामा अवरोधलगायतका मुद्दा चलाउन पनि माग गरेको छ। यसले अपराधीहरुलाई नियमानुसार गैर जमानती हिरासतमा राख्न र कडा सजाय दिन पनि सरकारसँग आग्रह गरेको छ।

संघले महामारीको यस्तो समयमा चिकित्सक, स्वास्थ्यकर्मीलगायत सम्पूर्ण राष्ट्रसेवकको मनोवल घटाउने खालको गतिविधिले सबैलाई स्तब्ध तुल्याएको उल्लेख गरेको छ।

सिके राउतका कार्यकर्ताद्वारा डाक्टरमाथि निर्घात कुटपिट



Leave a Reply

Your email address will not be published.