फाइजरपछि मोडेर्नाले पनि सुरु गर्यो ओमिक्रोनविरुद्ध बुस्टर डोज ट्रायल

काठमाडौं – कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट विश्वका अधिकांश देशमा तीव्र गतिमा फैलिइरहेको छ। यसको नियन्त्रणका लागि थुप्रै खोप निर्माता कम्पनीहरु लागि परेका छन्। यसबीच दिग्गज अमेरिकी खोप निर्माता कम्पनी मोडेर्नाले कोरोनाको ओमिक्रोन भेरियन्टसँग लड्न विशेष रूपमा तयार गरिएको खोपको बुस्टर डोजको क्लिनिकल परीक्षण सुरु गरिएको जनाएको छ।
परीक्षणमा ६०० जनालाई समावेश गरिनेछ। जसमध्ये आधा व्यक्तिहरू यस्ता हुनेछन् जसलाई कम्तिमा ६ महिना अघि मोडेर्नाको कोभिड भ्याक्सिन दिइसकिएको छ र आधा त्यस्ता हुनेछन् जसलाई दुई डोजको अतिरिक्त तेस्रो बुस्टर डोज पनि दिइएको छ।
यसरी ओमिक्रोनलाई लक्षितगरी बुस्टरको तेस्रो र चौथो खुराकको रूपमा मूल्याङ्कन गर्न यो परीक्षण गरिँदैछ। कम्पनीले ओमिक्रोनविरुद्ध बुस्टर डोजको प्रभावकारिताको बारेमा पनि जानकारी दिएको छ। उसले बुस्टर इन्जेक्सन दिएको ६ महिनापछि ओमिक्रोनविरुद्धको एन्टिबडीको स्तर उच्चतहबाट ६ गुणा घटेको जनाएको छ। खोप लगाइएको २९ दिनसम्म एन्टिबडीको स्तर उच्चबिन्दुमा रहेको थियो। यद्यपि, सबै सहभागीहरूमा यसको उपस्थिति रहेको भने पत्ता लागेको छ।
‘हामी विश्वस्त छौं कि, ओमिक्रोनविरूद्ध एन्टिबडीले हाल स्वीकृत बुस्टरको ६ महिना पछि काम गरिरहेको छ,’ मोडर्नाका प्रमुख कार्यकारी अधिकृत स्टीफन बान्सेलले भने, ‘यद्यपि, ओमिक्रोनको खतरालाई ध्यानमा राख्दै हामी ओमिक्रोन भेरियन्टकै लागि भनेर खोपको बुस्टरमा काम गर्दैछौं र हामी परीक्षण सुरु गर्न पाउँदा खुसी छौं।’
मोडेर्नाभन्दाअघि उसको प्रतिद्वन्द्वी कम्पनी फाइजर एण्ड बायोएनटेकले ओमिक्रोनको लागि तयार गरिएको भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु भइसकेको बताएको छ।