अव्यावहारिक ‘जोर-बिजोर’- थोरै सवारी, कोचाकोच यात्रु [तस्बिरहरू]

काठमाडौं – साताको सुरूवातदेखि काठमाडौंका सडकमा गुड्ने सार्वजनिक सवारीहरू आधाले कम छन्। निजी सवारी पनि केही कम भएका छन्। सडक अलि खुकुलो देखिन्छ। तर जति सवारी चलेका छन्, त्यहाँ यात्रुको भीड यति धेरै छ कि, लाग्दैन त्यहाँ ‘भाइरस फैलिने बाटो’ छेकिन्छ।

स्थानीय प्रशासनले सवारीमा ‘जोर-बिजोर’को नियम लगाएपछि सवारीहरू कम त भएका छन् तर यात्रुको भीड भने झन् बढेको छ।

कोरोना संक्रमणको अघिल्लो लहरमै यो नियमको व्यापक आलोचना भएको थियो। तर जब जब संक्रमण फैलिन थाल्छ अनि स्थानीय प्रशासनले भनिदिन्छ- सवारीमा जोर-बिजोर। अनि आम नागरिक ‘प्रशासक’को अव्यवहारिक नियम झेल्न बाध्य हुन्छन्।

काठकाडौं उपत्यकाभित्रै तीव्र गतिमा संक्रमण फैलिन थालेपछि उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर जोर–विजोर प्रणाली लागु गरिएको थियो।

उपत्यका ३ जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गएको शुक्रबार रातिबाट उपत्यकामा चल्ले सार्वजनिक सवारी साधनमा जोर–विजोर लागु गरिएको थियो।

तर, सार्वजनिक सवारी साधनमा लागु गरिएको जोर–विजोर प्रणालीले कोरोना भाइरस संक्रमण घटाउनुभन्दा पनि बढाउन सहयोग गर्ने टिप्पणी भइरहेको छ।

सिडियोहरूको निर्णय : पन्छिने बाटो मात्रै

काठमाडौंका जिल्ला प्रशासन कार्यालयहरुको निर्णय आफू पन्छिनको लागि मात्र गरेको जस्तो देखिन्छ। अहिले उपत्यकाको सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागु भएको छ। जसअनुसार जोर गतेका दिन जोर नम्बरको सवारी साधन सञ्चालन गर्न पाइने र बिजोर गतेका दिन बिजोर नम्बरका सवारी।

जोर बिजोर प्रणाली अहिलेको समयमा कोरोना रोकथामको हिसाबले हेर्ने हो भने प्रभावकारिता शून्य देखिन्छ। किनभने जोर बिजोर नियम लागु भएसँगै सार्वजनिक सवारी साधनको संख्या त्यसै कम हुन्छ। जोर दिनको जोर नम्बरको सवारी साधन र बिजोरको दिन बिजोर नम्बरको सवारी साधन सञ्चालन हुँदा लगभग आधा सवारी साधनको संख्या घट्छ।

सवारी साधनको संख्या घटेर कोरोना संक्रमण दर घट्ने भने अवश्य होइन। संक्रमणदर घटाउनको लागि मानिसको भीडभाड कम गर्नुपर्छ। तर, जोरबिजोर प्रणाली लागु भएसँगै सार्वजनिक सवारी साधनमा यात्रुको संख्या झनै बढेको देखिन्छ। काठमाडौंको रत्नपार्कबाट कलंकी हुँदै थानकोट जाने, गोंगबु नयाँ बसपार्क जाने र चक्रपथ परिक्रमा गर्ने सवारी साधनमा यात्रु संख्या हर्ने हो भने सिट क्षमता भन्दा धेरै हुन्छ।

सरकारको निर्णयअनुसार माघ १५ सम्म विद्यालय बन्द भएका छन्। अहिले उपत्यकामा विद्यालयबाहेक अरु सबै सरकारी, गैरसरकारी कार्यालयहरु खुला छन्। निजी सवारी साधन नभएका अधिकांश व्यक्तिका लागि कार्यालय आउने–जाने माध्यम भनेको सार्वजनिक सवारी साधन हो।

दैलेखका धर्मेन्द्र शाही पुरानो नैकापमा बस्छन्। शाहीको काठमाडौं महानगरपालिका १३ चाँगलमा होलसेल पसल छ। उनको कोठाबाट पसलसम्म हिँडेर आउन कम्तिमा १ घण्टा लाग्छ। किराना सामानको होलसेल पसल भएको कारण बिहान सबेरै पसल खोल्नुपर्छ। र, साँझ अबेरसम्म पसल सञ्चालन गर्नुपर्ने हुन्छ।

हिँडेर पसल पुग्न समय धेरै लाग्ने भएपछि अहिले शाही सार्वजनिक सवारी साधनबाट बिहान कोेठादेखि पसलसम्म र साँझ पसलबाट कोठासम्म पुग्छन्। जोर बिजोर प्रणालीले कोरोना संक्रमण नियन्त्रणभन्दा पनि बढाउने जोखिम रहेको शाही बताउँछन्। भन्छन्, ‘जोर–बिजोर प्रणाली लागु नहुँदा बसमा सिट नपाइए अर्काे बसमा जाम्ला भन्ने हुन्थ्यो। तर अहिले सबै बसमा सिट प्याक हुन्छ। त्यसैले बसमा कोचाकोच उभिएर यात्रा गर्नुपर्छ। खाली सिटको बस पर्खेरै समय खेर जान्छ। सबै बस प्याक भएर नै आउँछन् अनि कोचिएर यात्रा गर्नुपर्छ।’

यस्तै पीडा धेरैको छ। किनभने सबै कार्यालय खुला छन्, सवारी साधन भने कम ।

सरकारले लागु गरेको जोर–बिजोर प्रणालीको उद्देश्य भीडभाड कम होस् भन्ने हो। तर, जोर–बिजोर प्रणालीले सार्वजनिक सवारी साधनमा बढी भीडभाड हुने गरेको छ। अझ सार्वजनिक सवारी साधन नै कोरोनाको ‘हटस्पट’ बन्ने देखिन्छ। किनभने सरदर ४० जनाको सिट भएको बसमा अहिले ६०-७० जनाले यात्रा गर्नुपर्ने बाध्यता छ। शाही भन्छन्, ‘सार्वजनिक सवारी साधनमा जोर–बिजोर लागु गरेर कोरोना संक्रमण रोकथाम हुन सक्दैन।’

सानेपा बस्दै आएका रविन नरसिङ केसीको धारण पनि खासै फरक छैन। केसी अहिले जस्टिस एकेडेमी अफ ल नामक इन्स्टिच्युट सञ्चालन गरिरहेका छन्। कोरोनाको कारण इन्स्टिच्युटको कक्षा अनलाइनबाट शुरु गरे पनि नेपाल ल क्याम्पसले एलएलबीको लागि भर्ना खुला गरेको छ।

आफ्नो इन्स्टिच्युटमा एलएलबी तयारी गरिरहेका विद्यार्थीहरुलाई सहयोग गर्न इन्स्टिच्युट आउनुपर्छ उनलाई। इन्स्टिच्युट पुतलिसडकमा छ। सानेपाबाट पुतलिसडक आउन बस चढ्नुपर्छ। केसी भन्छन्, ‘जोर–बिजोर प्रणाली लागु भएपछि बसको संख्या कम छ। यात्रुको चाप बढी हुन्छ। सबैलाई यात्रा गर्नुपर्ने बाध्यता छ। अफिस जानैपर्ने हुन्छ। त्यसैले जोर–बिजोर प्रणालीले कोरोनाको जोखिम बढेको छ।’

के भन्छन् विज्ञहरू

बसको संख्या कम भयो भने मानिसको संख्या कम हुन्छ भन्ने उद्देश्यले जोर-बिजोर प्रणाली लागु गरिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक शेरबहादुर पुन बताउँछन्।

तर, सबै सरकारी-गैरसरकारी कार्यालय सञ्चालनमा रहेका कारण अहिलेको अवस्था सिर्जना भएको पुनको धारणा छ। यसको विकल्प विभिन्न कार्यालयमा कर्मचारी आलोपालो सिस्टममा सञ्चालन गर्नुपर्ने, सबै नागरिकलाई खोप उपलब्ध गराउनुपर्ने लगायत काम गर्नसके भीडभाड र कोभिडको जोखिम कम हुने पुन बताउँछन्।



Leave a Reply

Your email address will not be published.