जनगणना २०७८: सबैभन्दा धेरै जनसंख्या काठमाडाैंमा, कम मनाङमा

हेल्थपोस्ट नेपाल

काठमाडाैं-देशका ७७ जिल्लामध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौँमा २० लाख १७ हजार ५३२ र सबैभन्दा कम मनाङमा पाँच हजार ६४५ जना रहेकाे तथ्या‌ंक विभागले बुधबार सार्वजनिक गरेकाे प्रारम्भिक विवरणमा उल्लेख छ।

मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसङख्या भएका जिल्ला बनेका छन्। कम जनसङ्ख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। जिल्लाअनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङकाे १३० र सबैभन्दा कम  लैंगिक अनुपात प्यूठानको ८२ छ। जिल्लागत वार्षिक जनसङ्ख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणनाअनुसार २७ जिल्लामा ऋणात्मक देखिएको थियो।

यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा (३.३२%) र सबैभन्दा कम रामेछाममा (–१.६५%) रहेको छ। हिमाली जिल्लामध्ये मुगुमा सबैभन्दा बढी (१.८०%) वार्षिक जनसङ्ख्या वृद्धिदर देखिन्छ । ग्रामीण–सहरी जनसङ्ख्या वितरण नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई सहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ सालको कूल जनसङ्ख्यामा सहरी जनसङ्ख्या ६६.०८% पुगेको छ भने ग्रामीण जनसङ्ख्या ३३.९२% पुगेको छ । सङ्घीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रानुसार वर्गिकरण गरी २०६८ सालको जनसङ्ख्यालाई समायोजन गर्दा सहरी जनसङ्ख्या ६३.१९% र ग्रामीण जनसङ्ख्या ३६.८१% थियो।



Leave a Reply

Your email address will not be published.