१० वर्षमा २७ लाख बढ्यो जनसंख्या, वृद्धिदर भने कमी

काठमाडौं–नेपालमा जनसंख्या वृद्धिदर घटेको पाइएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले यसपटक जनसंख्या वृद्धिदर घटेको जनाएको हो।
तथ्यांकअनुसार यसपटक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ। यसअघि २०६८ को जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो। विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। नेपालमा पुरुषको भन्दा महिलाको संख्या धेरै छ। अहिले पुरुषको जनसंख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ।
सार्वजनिक गरिएको विवरण अनुसार विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय रहेको छ।
यसअघि २०६८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १०.१८ प्रतिशतले बढेको विभागले जनाएको छ ।
विभागका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक भने ६ महिनाभित्र आउनेछ। विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणना गरेको थियो।