औषधि लिमिटेड सिटामोलमै चक्कर काटिरहेको छ, दश तले सपना!

बिग्रिएको मौसमभित्र उघ्रिन नसकेको काठमाडौं ‘जोर-बिजोर’मा दौडिरहेको थियो। ‘तेस्रो लहर’मा हुत्तिएको कोरोना संक्रमणले फेरि पनि पूरै देश बिथोलिइरहेको छ।

बिथोलिएको यही मौसममा बजार फेरि एकाएक तातियो- सिटामोल छैन।

सोमबारको पहिलो प्रहर नेपाल औषधि लिमिटेडका महाप्रवन्धक सफिउल्लाह मोहम्मद सफीले कतै रिपोर्ट गर्दै थिए- अहिले वीर, टिचिङ, अनि पाटनजस्ता ठाउँमा पालैपालो पठाइरहेका छौं…, अब भ्यालीबाहिर पनि पठाउने तयारी भइरहेको छ। जुम्लामा हाम्रो स्टेसन छैन…।’

‘घाटा लाग्यो’ भनेर १५ दिनदेखि उत्पादन बन्द गरेको नेपाल औषधि लिमिटेडले सरकारको आदेशपछि फेरि उत्पादन सुरू गरेको छ। र अहिले कम्पनीलाई ‘सिटामोल’ पुर्‌याउन भ्याइ नभ्याइ छ।

सिटामोलको कथा

बानेश्वर-माइतीघर सडकमा पर्ने बबरमहलमा करिब ४५ रोपनी क्षेत्रफलमा फैलिएको एउटा ‘कम्पाउन्ड’भित्र पुरानो शैलीमा बसेका धेरै घरहरू छन्। तीमध्य एउटा ठूलो घरमा छ- नेपाल औषधि लिमिटेड। पुरना इँटाहरूलाई रंग लगाएर अलिअलि नयाँ बनाए पनि भित्र त यो ‘भूत बंगला’ नै छ। मक्किइसकेको यो ‘घर’लाई आम नेपालीले सम्झिने एउटै नाम हो- सिटामोल।

विश्वमा डाक्टरको पर्चीबिनै सबैभन्दा धेरै बेचिने र किनिने एउटा औषधि पनि हो, सिटामोल। सिटामोल- एउटा साधारण चक्कीमात्रै होइन, नेपाली जनमनमै बसिसकेको सारा औषधीको ‘बिम्ब’ हो। र, यो बिम्बसँग गाँसिएको एउटा आयाम हो- नेपाल औषधि लिमिटेड।

नेपालको इतिहासमा यसको कथा अलि पर छ।

१९४७ तिर ‘वीर अस्पताल’ खुलेपछि नेपाली उपचार पद्धतीमा आधुनिक औषधिको प्रयोग व्यापक हुन थालेको थियो। अर्थात् ‘एलोप्याथिक’ भनिने आधुनिक औषधि प्रयोगको सुरूवात ‘वीर’कै इतिहाससँग गाँसिन्छ। त्यो बेला नेपालीका लागि अस्पताल भनेकै वीर थियो।

२६ वर्षछपछि १९७३मा बेलायती दुतावासको परिसरमा एउटा अस्पताल खोलियो। खासमा दुतावासले बेलायती नागरिकका लागि भनेर त्यो अस्पताल आफ्नै आँगनमा खोलेको थियो। तर त्यहाँ पनि नेपालीको भीड लाग्न थाल्यो। त्यसपछि वीरको सेवा अझ विस्तार गर्न थालियो।

अस्पताल थियो। बिरामी आउँथे। औषधि चाहिन्थ्यो। तर सरकारसँग थिएन। अहिले जस्तो सामान आयात सजिलो थिएन। सरकारले २०२१ सालमा ‘शाही औषधि अनुसन्धानशाला’ स्थापना गर्‍यो। २०२५ सालदेखि यही अनुसन्धानशालाले नेपालमै औषधिहरूको उत्पादन थाल्यो। २०२९ सालमा सरकारले यसलाई ‘शाही औषधि लिमिटेड बनायो।’ र यो उद्योगका रूपमा स्थापित भयो।

व्यवस्था परिवर्तनसँगै अहिले यो ‘नेपाल औषधि लिमिटेड’ बनिसकेको छ तर त्यो ‘सिटामोल’ आज पनि उसकै ‘पर्याय’ बनिरहेको छ।

नेपालमा सिटामोल बनाउने यही ‌नेपाल औषधि लिमिटेड मात्रै होइन। नेपालमा प्रयोग हुने करिब २२ सय प्रकारका औषधिहरूमध्ये आधा भन्दा धेरै प्रकारका औषधिहरू उत्पादन गर्ने ५० भन्दा धेरै कम्पनीहरु नेपालमै छन्। सिटामोलमात्रै देशभित्र वार्षिक करिब ८ करोड चक्की खपत हुन्छ।

र, सिटामोल उत्पादन गर्ने यस्ता दर्जनौं औषधि कम्पनीहरू पनि छन्। तर जब जब ‘सिटामोल’ले बजार तातिन्छ अनि त्यसको सिधा ‘राप’ खेप्ने यही औषधि लिमिटेड हो र, त्यसको सिधा अर्थ हो- सरकारले सिटामोलसम्म दिन सकेन। अर्थात् जनताको स्वास्थ्यसँग गाँसिएको सरकारको अर्को एउटा मसिनो ‘बिम्ब’ हो, सिटामोल।

किनकि आफैले चलाएका र थेग्दै आएका केही उद्योग, संस्थान र कारखानामध्ये सरकारको टाउको खाने एउटा उद्योग हो- नेपाल औषधि लिमिटेड।

२०६०सालसम्म सरकारको यो कम्पनी नाफामै थियो। सरकारले अत्यावश्यक सूचीमा राखेका धेरै औषधिहरू यही कम्पनीले बनाउँथ्यो। करिब १२० प्रकारका औषधिहरू बनाउँदै आएको यो कम्पनी त्यसपछि विस्तारै थला पर्दै गयो। विश्व स्वास्थ्य संगठनले उसलाई ‘गुड म्यानिफ्याक्चरिङ प्राक्टिस(जिएमपी)’मा आधारित भएर औषधि उत्पादन गर्न भन्यो। तर औषधि लिमिटेडले त्यो मापदण्ड पछ्याउन सकेन। किनकि उसका मेसिनहरू धेरै पुराना थिए। डब्ल्यूएचओको मापदण्डअनुसार ती मेसिनहरूलाई ‘अपग्रेड’ गरिनुपर्थ्यो। तर सरकारले त्यसो गर्न सकेन।

त्यसपछि जेनतेन डिस्टिल वाटर र जीवनजल उत्पादन गर्दै आएको लिमिटेड २०६७ सालमा पूर्णरूपमा बन्द भयो। कर्मचारीहरू ‘बेकामे’ भए। उसको जग्गामा बनेका केही घरहरू भाडामा लगाइएका छन्। सरकारी कार्यालय र संस्थानहरूले तिरेको भाडाबाटै कमर्चारीहरूले तलव खान्थे। पुराना भएका मेसिनहरूमा खिया लाग्न थाल्यो। पुरानो त्यो भवन ह्वाङ्गै भएर झन् मक्किन थाल्यो।

२०७३ सालमा माओवादी नेतृत्वमा बनेको सरकारमा नेपाली कांग्रेसका नविन्द्रराज जोशी उद्योगमन्त्री थिए। उनले मन्त्रालयलाई त्यो औषधि लिमिटेड चलाउनका लागि सम्भाव्यता अध्ययन गर्न लगाए।

त्यो टोलीले डब्ल्यूएचओले भनेको (जिएमपी) मापदण्ड पूरा गरेर कम्पनी चलाउन सकिने र त्यसका लागि करिब १५ करोड रूपैया चाहिने प्रतिवेदन बुझायो। मन्त्री जोशीकै पहलमा सरकारले लिमिटेडलाई त्यो रकम ऋणका रूपमा दिने निर्णय गर्‍यो। सुरूमै सरकारले साढे ६ करोड दियो।

पुराना मेसिनहरू थन्क्याएर केही नयाँ किनिवरि लिमिटेडले तत्कालै ‘जीवनजल’ उत्पादन थालिसकेको थियो। त्यसको एक वर्षपछि फेरि उसले ‘सिटामोल’ पनि उत्पादन गर्न थाल्यो। २०७४ फागुन १५ गतेदेखि सरकारी ‘सिटामोल’को पुनर्जन्म भयो।

र, अहिले पनि नेपाल औषधि लिमिटेडले त्यही सिटामोलकै चक्कर काटिरहेको छ।

दश तले सपना

केही दिनअघि महाप्रबन्धक सफिउल्लाहले लिमिटेडको वार्षिक साधारणसभा गराए। यो करिब ३५ वर्षपछि भएको थियो। कम्पनी एनअनुसार हरेक वर्ष कम्पनीले साधारणसभा गर्नुपर्ने हुन्छ। तर २०३३ सालदेखि नेपाल औषधि लिमिटेडको वार्षिक साधारणसभा भएकै थिएन।

‘त्यो साधारणसभाका बेला त कागजपत्रहरू बोक्नका लागि एउटा गाडी नै खोज्नुपर्ने भएको थियो। एक गाडी कागजपत्र भए’ सफिउल्लाह भन्छन् ‘३५ वर्षदेखिका सबै कागजपत्रहरू जम्मा गरेर मैले वार्षिक साधारणसभा गराएको छु।’

करिब १५ वर्ष बंगलादेशमा औषधि बजार व्यवस्थापकका रूपमा काम गरेका उनी एकवर्ष अघि नेपाल औषधि लिमिटेडका महाप्रबन्धक भएर नेपाल भित्रिएका हुन्।

त्यही साधारणसभामा सफिउल्लाहले ‘औषधि लिमिटेडलाई नै पुनर्जन्म दिन’ आफूले देखेको एउटा ‘सपना’ सबैलाई सुनाए।

त्यो भव्य सपना थियो- नेपाल औषधि लिमिटेड कम्प्लेक्स।

करिब ५ वर्षमा पूरा गर्ने यो सपनाको महल बनाउनका लागि करिब ६ सय करोड खर्च हुने उनको आकंलन छ। र १० तले भवनलाई उनले ‘मेडिसन हब’ भन्ने गर्छन्।

यसको दुई वटा तलामा पार्किङ हुनेछ। त्यसपछि केही तलाहरूमा विभिन्न औषधी कम्पनीहरूले आआफ्नो बिक्री केन्द्र राख्नेछन्। खुद्रा औषधि पसलहरू हुनेछन्।

‘अहिले हेर्नुस् औषधि बजार नै व्यवस्थित छैन। आम सर्वसाधारणलाई औषधि खोज्न भौतारिनुपरेको छ। यो हब भयो भने सबै प्रकारका औषधिहरू एकै ठाउँमा पाइनेछन्। सबैलाई सजिलो हुनेछ’ उनी भन्छन्।

त्यो कम्प्लेक्समा सर्जिकल अनि फिटनेश सेन्टरहरू पनि हुनेछन्। अनि केही भाग लिमिटेडको ‘कर्पोरेट’ कार्यालय हुनेछ।

त्यसबाट आम्दानी पनि हुनेछ। करिब १ अर्बको आम्दानी हुने उनले आकंलन गरेका छन्।

‘नेपाल औषधि लिमिटेडलाई जोगाइ राख्ने हो भने हामी यो प्रोजेक्टमा जानैपर्छ। हामीसँग करिब ४५ रोपनी जमिन छ। यसैको मूल्याङ्कन पनि धेरै हुन्छ’ उनी भन्छन् ‘यो कुनै असम्भव कुरा होइन। सरकारले चाहने हो भने मैले यो परियोजना पूरा गर्नसक्छु।’

उनलाई लाग्छ त्यसपछि सरकारले औषधि लिमिटेडलाई ऋण दिइरहनुपर्दैन। आम्दानी पनि हुन्छ र जनतालाई चाहिने अत्यावश्यक औषधिहरू पनि सरकारले सस्तो मूल्यमा पाउनेछ।

सरकारले आम नागरिकलाई ‘अत्यावश्यक’ भनिने करिब ७१ प्रकारका औषधिहरू आफ्ना स्वास्थ्य संस्थाहरूबाट निशुल्क दिँदै आएको छ। तर आफैले पैसा दिएर चलाइरहेको औषधि लिमिटेड सिटामोलभन्दा माथि उक्लिन सकिरहेको छैन। र, त्यो ७१ प्रकारका औषधि निजी कम्पनीहरूसँग किन्नका लागि सरकारले हरेक वर्ष करिब २ अर्ब रूपैयाँ खर्च गर्दै आएको छ।

महाप्रवन्धक सफिउल्लाहका अनुसार अब लिमिटेडले सरकारलाई चाहिने सबै प्रकारका औषधिहरू उत्पादन गर्ने तयारी गरेको छ।

सुरूवातमा केही अत्यावश्यक सात प्रकारका औषधिहरू उत्पादन गर्ने लक्ष्य छ। त्यो लक्ष्य कम्तीमा ३ महिनाभित्र पूरा हुनेछ। त्यसपछि अर्को एक वर्षभित्रमा ४५ प्रकारका औषधिहरू उत्पादन हुनेछन् र त्यसपछि ११ प्रकारका अरू सर्जिकल सामग्री उत्पादन गर्ने लिमिटेडको लक्ष्य छ। त्यसको दुई वर्षपछि ८ प्रकारका स्लाइन उत्पादन गर्ने लक्ष्य उसको छ।

अहिले आफ्नो जमिनमा बनेका केही भवनहरू लिमिटेडले भाडामा लगाएको छ। त्यसबाट आउने भाडाले नै उसलाई करिब १ सयभन्दा धेरै कर्मचारीहरूको तलव खुवाउन पुगेको छ।

सिटामोल बेचेर त कम्पनीले घाटा नै बेहोरिइरहेको छ। सिटामोलको एउटा चक्की बनाउन १ रुपैयाँ ३० पैसा लाग्छ। बजारमा उसले ७४ पैसामा पुर्‌याउँछ र औषधि पसलहरूमा एउटा चक्कीको एक रूपैयाँमा बिक्री भइरहेको छ।

‘एक वर्ष भयो मैले सरकारसँग कर्मचारीलाई खुवाउनका लागि पैसा मागेको छैन। घाटामै सिटामोल बेचेर भएपनि मैले यहाँ म्यानेज गरिरहेको छु। मैले थप औषधि उत्पादनका लागि चाहिने केही रकम मात्रै सरकारसँग ऋण मागेको हुँ’ उनी भन्छन् ‘यो सरकारलाई चाहिने कम्पनी हो। र यसलाई बचाइराख्नका लागि मैले केही योजना पनि दिएको छु। औषधि पुर्‍याउन नागरिकलाई सरकारकै दायित्व हो।’



One thought on “औषधि लिमिटेड सिटामोलमै चक्कर काटिरहेको छ, दश तले सपना!

  1. यी र यस्ता ब्यवस्थापकहरुको योजना मुताविक कस्ले काम गर्ने हो देशमा ?

Leave a Reply to जगत नेपालि Cancel reply

Your email address will not be published.