राप्ती प्रतिष्ठानमा ‘योग्यता नपुग्ने’ व्यक्तिलाई उपकुलपति नियुक्त गर्न चलखेल

हेल्थपोस्ट नेपाल

काठमाडौं – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘योग्यता नपुग्ने’ व्यक्तिलाई उपकुलपति बनाउने चलखेल भइरहेको सरोकारवालाले बताएका छन्।

प्रतिष्ठानकी उपकुलपति प्रा. डा. संगीतासिंह भण्डारीको पदावधि सकिएपछि नयाँ उपकुलपति नियुक्तिको तयारी भएको हो । ७ पुसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवेदन माग गरेको थियो। सातदिने म्यादमा १६ जनाले आवेदन दिएका थिए।

आवेदन दिनेमा डा. पवनजंग रायमाझी, प्रा.डा. प्रदीप घिमिरे शर्मा, प्रा.डा. संगीतासिंह भण्डारी, डा. लुमेश्वर आचार्य, डा. विकास लामिछाने, डा. प्रबोध रेग्मी प्रा.डा. राजेन्द्रराज वाग्ले, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. सञ्जयकुमार ठाकुर, डा. लक्ष्मीनारायण सिंह, कडा. प्र्रविन श्रेष्ठ, डा. जितनारायण यादव, डा. विश्वनाथ यादव, प्रा.डा. नारायणबिक्रम थापा, डा. रामेश कोइराला र प्रा.डा. रेवतीरमण मल्ल थिए।

प्रतिष्ठानमा उपकुलपति छनोटका लागि स्वास्थ्यमन्त्री विरोध खतिवडाको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको छ। समितिमा सदस्य–सचिव डा. रोशन पोखरेल र मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला सदस्य छन्।

स्रोतका अनुसार समितिले प्रा.डा. राजेन्द्रराज वाग्ले, प्रा.डा. नारायणबिक्रम थापा, प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठ, प्रा.डा. रामेश कोइराला र डा. विकास लामिछाने गरी पाँचजनाको नाम ‘सर्टलिस्ट’ गरेको छ। तीमध्ये तीनजनाको नाम सिफारिस गर्ने र उनीहरू मध्येबाटै उपकुलपति नियुक्त हुने स्रोतले जनाएको छ।

डा. लामिछाने कसरी ‘सर्टलिस्ट’मा परे भन्ने विषयमा सरोकारवालाले चासो व्यक्त गरेका छन् । प्रतिष्ठानको कार्यविधि, २०७८ अनुसार उपकुलपति हुन मान्यताप्राप्त शैक्षिक संस्थाबाट चिकित्साशास्त्रमा कम्तिमा स्नातकोत्तर गरेको, कम्तिमा प्राध्यापक वा मन्त्रालयसम्बद्ध निकायमा एघारौं तह वा सो सरहको पदमा काम गरेको व्यक्ति मात्र योग्य हुन्छ।

स्वास्थ्य मन्त्रालयको एघारौं तहबाट अवकाश पाएका डा. लामिछाने चिकित्साशास्त्रमा नभई सार्वजनिक स्वास्थ्यमा स्नातकोत्तर हुन्। शक्तिकेन्द्रहरू रिझाएर उनी ‘सर्ट लिस्ट’मा पर्न सफल भएको सरोकारवालाको दाबी छ।

डा. लामिछाने दाङकै हापुरका स्थायी बासिन्दा हुन् । र, माओवादीका जिल्लादेखि केन्द्रसम्मका नेताहरूसम्म उनको पहुँच छ । नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेको नाता पर्ने भएकाले उक्त पार्टीसहित कांग्रेस र माओवादी केन्द्रमा पनि उनको पकड रहेको स्रोत बताउँछ। उनी प्राध्यापक होइनन्।

डा. लामिछाने भने आफूले इच्छा मात्र व्यक्त गरेको बताउँछन्। आफूले त्रिवि शिक्षण अस्पतालबाट एमबीबीएस गरेर अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयबाट एमपीएच गरेको र त्यसलाई नेपाल मेडिकल काउन्सिलले मान्यता दिएको उनी बताउँछन्। विश्वविद्यालयको क्रेडिट पूरा गरेर आएकाले आफ्नो शैक्षिक योग्यतामाथि प्रश्न उठाउनुको औचित्य नभएको उनको भनाइ छ।

‘एमडी–एमएस गरेको मात्र स्नातकोत्तर होइन, एमपीएच र नर्सिङ विषयमा गरिएका स्नातकोत्तर पनि चिकित्साशास्त्रकै हुन्,’ उनी भन्छन्, ‘यसअघि एमपीएच गरेका व्यक्ति पनि स्वास्थ्य प्रतिष्ठानका उपकुलपति बनेको इतिहास छ ।’ उपकुलपतिको पद व्यवस्थापकीय भएकाले त्यसमा नियुक्ति पाउने व्यक्तिले बिरामीको उपचार गर्नु नपर्ने उनको भनाइ छ।

यसअघि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक नभएकै कारण डा. ज्ञानेन्द्र कार्कीले उपकुलपति पदबाट हट्नुपरेको थियो । ‘राप्ती प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातकोत्तर र प्राध्यापक दुवै नरहेका व्यक्तिलाई उपकुलपति बनाइए हामी स्वीकार्दैनौं,’ एक स्थानीय सरोकारवाला भन्छन्, ‘डा. विकास लामिछानेलाई उपकुलपति बनाउने चलखेल भइरहेको जानकारी पाएका छौं । त्यसो भयो भने हामी चुप लागेर बस्दैनौं।’

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रको अध्यापन शुरु भइसकेको सन्दर्भमा राप्तीमा भने राजनीति मात्र भइरहेको उनी बताउँछन् । भन्छन्, ‘हामीलाई चिकित्सक त्यो पनि प्राध्यापक स्तरको उपकुलपति चाहियो, जसले यहाँ पनि चिकित्साशास्त्रको अध्यापन सुरु गराउन सकोस् । राजनीतिक सोर्सफोर्समा आएको व्यक्तिलाई स्वीकार्न सकिँदैन।’

राप्ती प्रतिष्ठानको उपकुलपतिको दौडबाट बाहिरिएका एक चिकित्सकका अनुसार चिकित्साशास्त्रमा स्नातकोत्तर हासिल गर्नु भनेको ‘एमडी–एमएस’ उपाधि प्राप्त गर्नु हो । त्यसका लागि थेसिससहितका प्राज्ञिक अभ्यास अनिवार्य हुन्छ। डा. लामिछानेको योग्यता स्नातक तह मात्र भएको उनी बताउँछन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले डा. वसन्त लामिछाने निमित्त उपकुलपति छन्। निवर्तमान उपकुलपति प्रा.डा. भण्डारीलाई मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि निमित्त भएर काम गर्न २४ मंसिरमा जिम्मेवारी दिएको थियो । स्थानीय स्तरबाट प्रा.डा. भण्डारीको विरोध भएपछि डा. लामिछानेलाई १ पुसमा निमित्तको जिम्मेवारी दिइएको छ।

एमडी गरेको, प्राध्यापक, आफैं शल्यक्रिया गर्न सक्ने, आला भिरेर बिरामीको जाँच गर्न सक्ने, कुनै आकस्मिक अवस्था आइपर्दा आफैं बिरामीको सेवामा खट्न सक्ने व्यक्ति मात्र राप्ती प्रतिष्ठानको उपकुलपति हुन सक्ने दाङ क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी बताउँछन्। ‘योग्य मान्छे आउनुपर्छ, नाम जोसुकै होस् । अयोग्य मान्छेले नियुक्ति पाउनु हुँदैन,’ सांसद चौधरी भन्छन्, ‘अयोग्य व्यक्तिलाई उपकुलपति बनाइयो भने सीधै प्रतिकार गर्छौं।’



Leave a Reply

Your email address will not be published.