गरिब देशबाट ठूलो संख्यामा ‘नर्स’ ल्याउँदै धनी देश, विश्वकै स्वास्थ्य व्यवस्थामा गम्भीर असर

हेल्थपोस्ट नेपाल

काठमाडौं – विगत एक वर्षदेखि क्यानडाको टोरन्टोस्थित अस्पतालको आकस्मिक विभागमा कार्यरत एमी एर्हार्टले गत हप्ता जागिर छोडिन्। उनी अस्थायी कामका लागि अमेरिकाको फ्लोरिडा जाँदैछिन्, त्यसपछि उनको अन्य योजना पनि छ। एरहार्ट भन्छिन्, ‘हामी जहिले पनि धेरै थकित रहन्छौं। म मेरा सहकर्मीहरूलाई मिस गर्नेछु। तर, कामको अवस्था राम्रो भएको भए म यहीँ रोकिने थिएँ।’

कोभिड महामारीले धनी र गरिब सबै देशका स्वास्थ्यकर्मीहरूको ठूलो परीक्षा लिएको छ। त्यसैले प्रायः सबै देशले स्वास्थ्यकर्मीको अभावको सामना गरिरहेका छन्। अवस्था यस्तो छ कि, अस्पतालहरूले आफ्ना कर्मचारीहरूलाई बिदामा नबस्न र लामो समय काम गर्न आग्रह गरिरहेका छन्। जुन विगत दुई वर्षदेखि जारी छ। धनी देशहरूले गरिब देशहरुबाट यो समस्याको समाधान खोजिरहेका छन्।

इन्टरनेशनल काउन्सिल अफ नर्सेस (आइसिएन) ले धनी देशले गरिब देशबाट ठूलो संख्यामा नर्स भर्ना गर्ने गरेकोले गरिब देशहरुको स्वास्थ्य व्यवस्थामा असर परिरहेको बताएको छ। ओमिक्रोन भेरियन्टका कारण संक्रमणका घटना बढेपछि सारा विश्व स्वास्थ्यकर्मीको अभावमा अहिले जुधिरहेको छ।

जेनेभामा रहेको इन्टरनेशनल काउन्सिल अफ नर्सेसमा १३० देशका २ करोड ७० लाखभन्दा बढी सदस्य आवद्ध छन्। संगठनका सिइओ, होवार्ड क्याटनले बिरामी, कामको बोझ र स्वास्थ्यकर्मीहरू देश छोड्ने कारणले बढ्दो ओमिक्रोन संक्रमणकाबीच धेरै नर्सहरु काममा अनुपस्थित हुन थालेको बताए। उनले नर्सहरुको यस्तो अनुपस्थिति महामारीको अघिल्लो २ वर्षअघिसम्म नदेखिएको बताए।

धनी देशहरूमा पनि स्वास्थ्यकर्मीको अभाव छ, जसलाई पूरा गर्न यी देशहरू स्वयंसेवक र सेवानिवृत्त कामदारहरूतर्फ फर्किरहेका छन्। तर, क्याटन भन्छन्, ‘धेरै देशहरूले अन्तर्राष्ट्रिय भर्तीलाई पनि तीव्र बनाएका छन्, जसका कारण असमानता बढ्दै गएको छ।’

क्याटनले कोभिड-१९ को समयमा अन्तर्राष्ट्रिय नर्सहरूको अवस्थाबारे प्रतिवेदन पनि तयार गरेका छन्। यसबारे उनले भनेका छन्, ‘हामीले बेलायत, जर्मनी, क्यानडा र अमेरिका जस्ता देशहरूमा अन्तर्राष्ट्रिय भर्तीमा बृद्धि भएको देखेका छौं। मलाई यो एक अनुपयुक्त समाधान लाग्छ। हामीले यस्तै कुरा पिपिइ र खोपमा पनि देखेका थियौं। जसमा धनी देशरुले आफ्नो शक्तिको बलमा प्रशस्त खरिद गर्ने र थुपार्ने काम गरेका थिए। यदि उनीहरूले नर्सहरूलाई पनि त्यसै गरे भने यसले असमानतालाई झन् बढाउँछ।’

आइसिएनको तथ्यांकअनुसार महामारी फैलिनुअघि नै विश्वमा कम्तीमा ६० लाख नर्सको अभाव थियो र यस अभावको ९० प्रतिशत पीडित गरिब तथा मध्यम आय भएका मुलुकका थिए। धनी देशहरूले भर्खरै भर्ना गरेका अधिकांश नर्सहरु नाइजेरिया, क्यारेबियन र अन्य अफ्रिकी क्षेत्रहरूबाट आएका छन्। क्याटन भन्छन्, ‘उच्च तलब र राम्रो अवस्थाले यी नर्सहरूलाई आफ्नो देश छोडेर विदेश जान प्रोत्साहित गरिरहेको छ।’

आइसिएनको प्रतिवेदनमा अध्यागमनमा नर्सहरूलाई प्राथमिकता दिइने गरेको उल्लेख छ। जसले गरिब देशबाट धनी देशमा नर्सहरु जाने प्रक्रियालाई अझ तीव्रता दिएको छ। क्याटन भन्छन्, ‘केही मानिसहरू यो सम्पूर्ण प्रक्रियालाई हेर्नेछन् र भन्नेछन् कि, धनी देशहरूले नयाँ नर्स र स्वास्थ्यकर्मीहरूलाई शिक्षा र तालिम दिन लागत बचत गरिरहेका छन्।’

क्याटन चेतावनी दिँदै भन्छन्, ‘विश्व जसरी स्वास्थ्यकर्मीहरूको अभावको सामना गरिरहेको छ, अन्ततः धनी देशहरू पनि यसबाट पीडित हुनेछन्।’ जनशक्ति विस्तार गर्न दश वर्षे योजना र ठूलो लगानी आवश्यक पर्ने उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय स्तरमा हामीलाई ताली र न्यानो शब्दहरू होइन एक समन्वयात्मक, सहयोगी र केन्द्रित प्रयासको आवश्यकता छ।’, क्याटनले भने।



Leave a Reply

Your email address will not be published.