भक्तपुरमा उकालो लाग्यो ‘कोरोना ग्राफ’

हेल्थपोस्ट नेपाल

काठमाडौं – भक्तपुरमा कोरोना संक्रमितको ‘ग्राफ’ उकालो लागेको छ। पछिल्लो सयम जिल्लमा दैनिक ५०० भन्दा धेरै संक्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ संक्रमित थपिए। यस्तै, ८ माघमा ९६८, ७ माघमा ६२७, ६ माघमा ५६४ संक्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

जिल्लामा सक्रिय संक्रमित संख्यासमेत ह्वात्तै बढेको छ। जिल्लामा आइतबारसम्म कूल सक्रिय संक्रमित संख्या तीन हजार ९९८ पुगेको छ। तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन्।

जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय संक्रमित छन्। तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन्। मध्यपुरथिमिमा आइतबार मात्रै २०२ संक्रमित थपिएका थिए।

यस्तै, सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। सक्रिय संक्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन्। यस्तै, एचडीयूमा चार , आईसीयुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ। जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडीयू ११७ शय्या, आईसीयू ३५ र भेन्टिलेटर १६ छन्।

यसैगरी, भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको छ। ८ माघमा एक संक्रमितको मृत्युसँगै जिल्लामा कोरोना संक्रमणका मृत्यु हुनेको संख्या ३६० पुगेको हो।



Leave a Reply

Your email address will not be published.