सीमामा कोभिड संक्रमण र होल्डिङ सेन्टरको अवस्थाबारे जानकारी लिए गृहमन्त्रीले

हेल्थपोस्ट नेपाल

काठमाडौं–गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन परीक्षण लगायतबारे जानकारी लिएका छन्।

खाँणले आइतबार दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जानकारी लिएका हुन्।

उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा सीमा नाका जोडिएका र सीमासँग नजिकका जिल्लाहरू कैलाली, रुपन्देही, बाँके, अर्घाखाँची, कञ्चनपुर, बारा, पर्सा, मोरङ, झापा, सप्तरी, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।

उनले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई शीतलहर र त्यसबाट नागरिकलाई बचाउन गरिरहेको प्रयासबारे पनि जानकारी लिएका छन्।

गृहमन्त्री खाँणले सीमाबाट भित्रने नागरिकको परीक्षणमा कोभिड देखिए उनीहरूलाई आइसोलेसनमा राख्न र नजिकैको जिल्लामा घर भएमा स्वास्थ्य मापदण्ड अपनाएर घरमै आइसोलेसनमा बस्न चाहनेलाई घरसम्म पुर्‍याउने व्यवस्थाबारे पनि चासो राखेका थिए।



Leave a Reply

Your email address will not be published.