५ वर्षमुनिका बालबालिकाका लागि फाइजरको खोपले अनुमति पाउला?

हेल्थपोस्ट नेपाल

काठमाडौं – राष्ट्रिय एलर्जी र संक्रामक रोग संस्थानका निर्देशक, एमडी एन्थनी फौसीले ५ वर्षभन्दा मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोपले अनुमति पाउन सम्भावना रहेको बताएका छन्। अमेरिकी खाद्य तथा औषधि विभाग (एफडिए) ले अर्को महिनामा (फेब्रुअरी) यो खोपलाई ५ वर्षमुनिका बालबालिकालाई प्रयोग गर्न अनुमति प्रदान गर्नसक्ने उनले बताएका हुन्।

एक अन्तर्वार्तामा उनले भने, ‘मलाई आशा छ कि, यो खोपले अर्को महिनाभित्र अनुमति पाउने छ।’

उनले साना बच्चाहरूको लागि खोप निकै महत्त्वपूर्ण भएको बताउँदै साना उमेर समूहका बालबालिकाहरूलाई खोपको तीन डोज आवश्यक रहेको बताए। फाइजर खोपको दुई मात्राले क्लिनिकल ट्रायलमा पर्याप्त प्रतिरक्षा प्रतिक्रिया नदिएको भन्दै उनले यसको तीन मात्रा आवश्यक रहेको बताए।

बालबालिकाका लागि तेस्रो मात्रा खोपको योजना बनाउँदै फाइजर

फाइजरले गत डिसेम्बरमा खोपको तेस्रो मात्राको अध्ययन चलिरहेको भन्दै यो अध्ययन सफल भए २०२२ को पहिलो ६ महिनाको डाटा एफडिएलाई उपलब्ध गराउन बताएको छ।

फाइजरले ६ महिनादेखि ४ वर्ष उमेरका बालबालिकाका लागि ३ माइक्रोग्राम डोज खोप उपलब्ध गराउँदा कुनै स्वास्थ्य समस्या नदेखिएको बताएको थियो। वयस्कलाई भने ३० माइक्रोग्राम खुराक उपलब्ध गराइँदै आइएको फाइजरले जनाएको छ। फाइजरले ५ देखि १२ र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि तेस्रो मात्रा खोपको मूल्यांकन गर्ने योजना पनि बनाइरहेको छ।

५ वर्ष मुनिका बालबालिकालाई उपलब्ध छैन खोप

५ वर्ष मुनिका बालबालिकाका लागि अझै कोरोनाविरुद्धको खोप उपलब्ध भएको छैन। यो एक मात्र त्यस्तो उमेर समूह हो जुन खोपको लागि अझै योग्य मानिएको छैन। यस्तो अवस्थामा उनीहरुमा कोरोना संक्रमण हुने सम्भावना बढी हुन्छ। अमेरिकामा ओमिक्रोन फैलिएपछि पछिल्लो एक महिनामा बालबालिकाको अस्पतालमा भर्ना हुने दर बढेको छ।

१४ राज्यको डाटा अनुसार जनवरीको सुरुमा ५ वर्ष मुनिका प्रत्येक १ लाख कोरोना संक्रमित बच्चाहरू मध्ये ८ लाई अस्पताल भर्ना गर्नुपरेको सिडिसीले जनाएको छ। डिसेम्बरको सुरुमा यो संख्या दोब्बर भन्दा बढी थियो।

अन्तर्वार्तामा फौसीले अमेरिकामा फेब्रुअरीको मध्यसम्ममा कोरोना संक्रमण उच्च बिन्दुमा पुगिसक्ने र सम्भवत: केही राज्यहरुमा घट्न सुरु हुने बताए।



Leave a Reply

Your email address will not be published.