कर्णालीमा पनि सिटामोलको चरम अभाव

हेल्थपोस्ट नेपाल

कर्णाली – कर्णाली प्रदेशमा कोरोना संक्रमण तीव्ररुपमा बढिरहेको छ। संक्रमणदर बढ्दै जाँदा भने बजारमा प्राप्त हुने खाद्यवस्तु, औषधिलगायतका मानव जीवनका दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव बढ्न थालेको छ। यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयले बिहीबार सुर्खेतका मुख्य बजारमा औषधि सप्लायर्सको आकस्मिक अनुगमन गरेको थियो।

सुर्खेतका प्रशासकीय अधिकृत नन्दराम चौलागाईंको नेतृत्वको टोलीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेतस्थित मुख्य बजारमा रहेको राम मेडिसीन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स, केडी फार्मेसी र सिनर्जी फार्मेसीसहितका औषधि सप्लायर्सका पसल अनुगमन गर्यो। यसक्रममा बजारमा सिटामोलको अभाव भएको पाइएको छ। ‘अनुगमन गर्दा राम मेडिसिन डिस्ट्रिब्युटर एण्ड सर्जिकल सप्लायर्स र केडी फार्मेसीमा सिटामोल ब्राण्डको औषधि नै भेटिएन’, प्रशासकीय अधिकृत चौलागाईंले भने, ‘दुवै सप्लायर्समा मात्र कोडोपार ब्राण्डको औषधि छ जुन सिटामोलको मूल्यभन्दा रु पाँच बढी पर्छ।’ सिनर्जी फार्मेसीमा भने २८३ स्टिमअर्थात् २ हजार ८३० ट्याब्लेट सिटामोल पाइएको उनले जानकारी दिए।

केडी फार्मेसीका प्रोपाइटर दानबहादुर रोकायले सिटामोल बजारमा प्रतिट्याब्लेटको मूल्य रु १ हुँदा कोडोपार रु ६/७ मा बजारमा बिक्री हुने गरेको बताए। मिश्रित आइटमले कोडोपार अलि बढी मूल्य तर सिटामोल कम मूल्यको भएकाले मूल्यकै कारण उत्पादक कम्पनीले नै बजारमा सिटामोलको अभाव देखाएको प्रोपाइटर रोकायले बताए। ‘कोडोपारमा प्यारासिटामोल र कोडिन फस्टेड मिश्रित हुन्छ’, उनले भने, ‘सामान्यतः ज्वरो आउँदा, टाउको दुख्दा यही औषधि प्रयोग गरिन्छ।’ प्रोपाइटर रोकायका अनुसार सिटामोल ब्राण्डको औषधि कोरोनाको दोस्रो लहरबाट आउन छोडेको छ। सिनर्जी फार्मेसीका सुपरभाइजर सुमन केसीले आफूहरुसँग थौरै मात्रामा सिटामोल ब्राण्डको औषधि भएको र पछिल्लो समय कम्पनीबाट आउन छोडेको बताए।

औषधि सप्लायर्ससँग सिटामोल नहुनुले कर्णालीमा यसको चरम अभाव देखिएको छ। सिटामोल अभावले भने उपभोक्ता एवं बिरामी ६ गुणा बढी रुपैयाँ तिरेर कोडोपार औषधि किन्न बाध्य छन्। बजारमा औषधिको मौज्दात, बिक्री अवस्था के छ र सिटामोल नआउनुको कारण के हो? भन्ने जानकारी लिन अनुगमन गरिएको प्रशासकीय अधिकृत चौलागाईंले बताए। उनका अनुसार यही अवस्थालाई आधार बनाएर अब सरोकारवालाबीच समीक्षा र तेस्रो लहरको कोरोना महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणको योजना निर्माण गरिनेछ।



Leave a Reply

Your email address will not be published.