आजबाट सार्वजनिकस्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य, हराए कसरी बनाउने?

काठमाडौं – सरकारले आजदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। आजदेखि सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, रंगशाला, हवाइयात्रा, पार्कलगायतका स्थानमा प्रवेश गर्दा पूर्णमात्रा खोप लगाएको कार्ड देखाउनु पर्ने भएको हो। कार्डको फोटो मोबाइलमार्फत देखाउन पनि मिल्नेछ।
यस्तै सरकारले आदेशमार्फत सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय पनि यसअघि नै गरिसकेको छ। गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने आदेशमा उल्लेख छ।
खोप कार्ड हराएमा यसो गर्नुहोस्
सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ। पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ । त्यसैले अब खोप कार्ड हराए के गर्ने त ? स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हराएमा खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने भएको छ।
मन्त्रालयले सूचना जारी गर्दै तीन तरिकाबाट हराएको खोप कार्ड लिनका लागि अनुरोध गरेको छ। पहिलो दुवै मात्रा खोप लगाइसकेका भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिनका लागि अनुरोध गरेको छ । दोस्रो जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने अनुरोध गरेको छ।
तेस्रो पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने अनुरोध गरेको छ । मन्त्रालयले यही माघ २ गतेबाट अग्रपङ्क्तिमा काम गर्नेलाई बुस्टर डोज दिइरहेको छ।