जानीजानी आफूलाई कोभिड सारेकी लोकगायिकाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–जानीजानी कोभिड सारेकी चेक गणराज्यकी लोकगायिका हानो होरकाको मृत्यु भएको छ। ५७ वर्षीया होरककाले रेष्टुँरा र फिल्महलमा जानका लागि ‘हेल्थ पास’ प्राप्त गर्न जानीजानी आफैंलाई संक्रमित बनाएकी थिइन्।

चेक गणराज्यमा रेष्टुँरा, फिल्म हल र सांस्कृतिक केन्द्रजस्ता सार्वजनिक स्थानमा जानखोप लगाएको प्रमाणपत्र देखाउनु अनिवार्य मानिन्छ। तर कोभिड भयो भने खोप लगाउनबाट छुट पाइन्छ। यहीकारण उनले आफूलाई कोरोना संक्रमित बनाएकी थिइन्।

होरकाको परिवारका अनुसार उनको आइतबार मृत्यु भएको हो। उनी प्रख्यात ब्याण्ड एसोनान्सकी मुख्य गायिका थिइन्। होरकाका छोरा यान रेकका अनुसार उनले गत क्रिसमसअघि आफूलाई संक्रमित बनाएकी थिइन्। तर, उनका छोरा र पतिले भने खोप लगाएका थिए।

छोराका अनुसार होरकाले खोप लगाउनुभन्दा संक्रमित हुनु नै ठीक हो भन्थिन्।

करिब एक करोड जनसंख्या भएको चेक गणराज्यमा मंगलबार २० हजारभन्दा बढी संक्रमित थपिएका थिए।

मृत्यु हुनु एक दिनअघि होरकाले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘म बचेँ, यो निकै गम्भीर थियो, त्यसैले अब थियटर, कन्सटै सबै हुनेछ र समुद्रको तुरुन्त यात्रा पनि।’

यान रेकले होरकाको मृत्युका लागि स्थानीय खोपविरोधी आन्दोलन जिम्मेवार भएको बताएका छन्। ‘ती मानिसहरुको हात रगतले लतपतिएको छ, मलाई राम्ररी थाहा छ मेरी आमालाई कसले प्रभावित गर्‍यो। आमाले परिवारभन्दा अरु अपरिचित मानिसलाई विश्वास गरिन्, त्यसैमा मलाई बढी दुःख छ,’ उनले भनेका छन्।



Leave a Reply

Your email address will not be published.