माघ १६ देखि २० सम्म कोरोनाविरुद्धको खोपका लागि विद्यालय खुलाइने

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने उद्देश्यले माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने बताएको छ। बिदा भएका कारण अहिले विद्यार्थीलाई खोप लगाउन गाह्रो भएको गुनासो आएपछि सरकारले माघ १६ देखि विद्यालय खुलाउने निर्णय गरेको हो।

गृहमन्त्रालयमा बसेको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि मात्र विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए। त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ।

त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ। त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ।

त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ।

त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ। विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ।

नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोप लगाउने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको छ।



Leave a Reply

Your email address will not be published.