नेपालमा कोर‍ोना संक्रमणको भयावह अवस्था : एक हप्तामै थपिए ३८ हजारबढी

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन्। दैनिक संक्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको संख्या पनि बढिरहेको छ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते ३ हजार ७५, पुस २९ गते ३ हजार ५५३, पुस ३० गते ५ हजार ८७, माघ १ गते ४ हजार ६३६, माघ २ गते ४ हजार ९६१, माघ ३ गते ६ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको थियो।

एकहप्ताको बीचमा सक्रिय संक्रमितको संख्या पनि बढेको छ। पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो संख्या बढेर मंगलबारसम्ममा ३९ हजार ४४ पुगेको छ। पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published.