१० दिनको आइसोलेसन अवधि हुँदैन पर्याप्त, फैलिएला है कोरोना संक्रमण!

हेल्थपोस्ट नेपाल

काठमाडौं – अहिले नेपालसहित विश्वभर कोरोनाको संक्रमण बढिरहेको छ। अहिले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतंक मच्चाइरहेको छ। अध्ययनमा कोरोनाको यो भेरियन्ट अत्यधिक संक्रामक भएको पाइएको छ। नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ संक्रमित थपिएका छन् भने मन्त्रालयले हालसम्म ओमिक्रोनका २७ केस पुष्टि गरेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट डेल्टा भन्दा बढी संक्रामक छ। यद्यपि, यसले मानिसहरूलाई गम्भीर समस्याहरू दिइरहेको छैन। यी कुराहरूलाई ध्यानमा राख्दै हालै यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (CDC) ले संक्रमितको लागि होम आइसोलेसनको समय १४ दिनबाट घटाएर १० दिन बनाएको छ। तर, हालै गरिएको एक अध्ययनमा वैज्ञानिकहरूले भनेका छन् कि यो परिवर्तनले मानिसमा ठूलो समस्या निम्त्याउन सक्छ।

‘इन्टरनेशनल जर्नल अफ इन्फेक्सियस डिजिज’ मा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरुले संक्रमितका लागि १० दिनको क्वारेन्टाइन पर्याप्त नहुने बताएका छन्। १० दिनको आइसोलेसनलाई भाइरसको फैलावट कम गर्न पर्याप्त मानिँदैन। अध्ययनले देखाएको छ कि कोरोनाबाट निको भएका १० मध्ये १ जनाले अझै पनि कोभिड-१९ फैलाउन सक्छन्। यसबारे पुनर्विचार गर्न जरुरी छ।

१० दिनको आइसोलेसन छैन पर्याप्त

कोरोना संक्रमित व्यक्तिबाट अरुलाई हुने जोखिमबाट बच्न र रोग निको पार्न १० दिनको होम आइसोलेसन मात्र पर्याप्त नहुने वैज्ञानिकहरुले अध्ययनबाट देखाएका छन्। एक्सेटर युनिभर्सिटीको नेतृत्वमा गरिएको यो अनुसन्धानले घरमा आइसोलेसन पूरा गरेका मानिसहरूको अध्ययन गरेको थियो। यसका लागि पहिलो आरटिपिसिआर परीक्षणमा पोजेटिभ देखिएका १७६ जनाको नमूना लिइएको थियो। जसमा पत्ता लाग्यो कि १० दिनको आइसोलेसन पूरा गरेपछि पनि १३ प्रतिशतले अरूलाई संक्रमित गर्न सक्ने लक्षण देखाए।

के छ आइसोलेसनको नियम

भर्खरै अमेरिकी स्वास्थ्य विभागले आइसोलेसन र क्वारेन्टाइनको समय १४ दिनबाट घटाएर १० दिन गरेको थियो, जुन अहिले त झन् ५ दिनमा घटाइएको छ। CDC ले आफ्नो आधिकारिक वेबसाइटमा भनेको छ, ‘कोभिड-१९ भएका व्यक्तिहरूले संक्रमण पुष्टि भएपछि ५ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्छ। यदि बिरामीमा कुनै लक्षण छैन र ज्वरो छैन भने यो अवधि पछि मास्क लगाएर अर्को पाँच दिनसम्म मानिसहरू वरपर बस्नसक्छन्।’

के भन्छन् अनुसन्धानकर्ता

युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कूलकी प्राध्यापक लोर्ना ह्यारिस भन्छिन्, ‘यो तुलनात्मक रूपमा सानो अध्ययन भए पनि हाम्रो नतिजाले शरीरमा भाइरसको प्रभाव १० दिनसम्म रहन सक्ने देखाएको छ। त्यसैले थोरै दिनमा आइसोलेसन अवधि समाप्त गर्दा भाइरसको थप प्रसारको जोखिम हुन्छ।’ दोस्रो, परम्परागत आरटी-पिसिआर परीक्षणहरूले भाइरल अंशहरुको उपस्थितिका बारेमा मात्र नतिजा देखाउँछ। यो पत्ता लगाउन सक्दैन कि यो अझै सक्रिय छ र व्यक्ति संक्रामक छ कि छैन भन्ने। यो पनि ख्याल गर्न आवश्यक छ।

१० दिनपछि पनि कोरोना भाइरस हुनसक्छ सक्रिय

युनिभर्सिटी अफ एक्सेटर मेडिकल स्कूलकी प्रोफेसर र अध्ययनकी प्रमुख लेखक मर्लिन डेभिस भन्छिन्, ‘आइसोलेसनमा बसेको १० दिनपछि पनि मानिसमा भाइरसको गतिविधि भएको थाहा हुन्छ, त्यसैले होम आइसोलेसनका नयाँ नियमहरूमा पुनर्विचार गर्न आवश्यक छ।’



Leave a Reply

Your email address will not be published.