ललितपुरमा आजदेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’, क-कसले पाउँछ?

हेल्थपोस्ट नेपाल

काठमाडौं – ललितपुर महानगरपालिकाले आजदेखि आगामी ६ गतेसम्म कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ। महानगरले अग्रपङ्तिमा खटिने समूहलाई महानगरका विभिन्न ८ स्थानबाट बुस्टर डोज दिन लागेको महानगरका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले जानकारी दिए।

बुस्टर डोज स्वास्थ्य तथा सरसफाइकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरु, सार्वजनिक क्षेत्रका कार्यरत (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा, सञ्चारकर्मी तथा पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक) लाई बुस्टर डोज दिन लागिएको हो।

महानगरले पहिलो दुई मात्रा खोप लगाएको ६ महिना पूरा भएपछि कार्यालयको परिचयपत्रका साथ बुस्टर डोज लगाउन आउन अनुरोध गरेको हो। खोप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने पनि महानगरले जनाएको छ।

बुस्टर डोज लगाइने स्थानहरु-

१. सर्वाङ्ग अस्पताल कामदेवस्थान
२. स्टार अस्पताल सानेपा
३. सुमेरु सिटी अस्पताल पुल्चोक
४. अल्का अस्पताल खरिबोट
५. निदान अस्पताल पुल्चोक
६. बि एण्ड बि अस्पताल ग्वार्को
७. मेडिसिटी अस्पताल नख्खु
८. सुमेरु अस्पताल धापाखेल



Leave a Reply

Your email address will not be published.