ओमिक्रोन होस् वा अन्य भेरियन्ट सुरक्षित रहन यी कुरामा दिनुस् ध्यान

काठमाडौं – कोरोनाको ओमिक्रोन भेरियन्टले नेपालसहित विश्वभर कहर मच्चाइरहेको छ। अध्ययनहरूले यो भेरियन्टलाई अहिलेसम्मको सबैभन्दा संक्रामक भएको बताएका छन्। त्यसैले खोपको दुवै डोज लिएका मानिसहरू पनि जोखिममा छन्।
स्वास्थ्य विज्ञहरुका अनुसार कोरोनाको यो त्रासबाट सुरक्षित रहन सबैले नियमित रुपमा रोकथामका उपायहरु अपनाउनु जरुरी छ। यद्यपि, ओमिक्रोन संक्रमणका लक्षणहरू हल्का भए पनि यसले केही मानिसहरूमा ठूलो समस्या निम्त्याउन सक्छ। यसतर्फ सबै सचेत हुन जरुरी छ।
हालैको एक रिपोर्टमा क्यालिफोर्निया विश्वविद्यालयकी संक्रामक रोग विशेषज्ञ डा. मोनिका गान्धीले भनेकी छन्, ‘कोरोना भाइरस सधैं हामीसँग रहने निश्चितजस्तै छ। भविष्यमा यसका नयाँनयाँ भेरियन्ट आउने सम्भावना पनि छन्। तर राहतको विषय यो पनि छ कि, अहिले जुन अवस्था नयाँ भेरियन्टमा देखिएको छ यसले महामारीको प्रकोप छिट्टै अन्त्य हुन लागेको देखिन्छ।’
कोरोनाबाट जोगिन निरन्तर प्रयास गरिरहनुपर्छ। विज्ञहरूले त्यस्ता केही उपायहरूको बारेमा बताएका छन् जसको पालना गर्दा सबै प्रकारका कोरोनाबाट सुरक्षित रहन मद्दत मिल्छ।
बुस्ट इम्युनिटी : बिट कोरोना
स्वास्थ्य विज्ञहरू भन्छन्, जो व्यक्तिको प्रतिरोधात्मक क्षमता बलियो हुन्छ उनीहरूलाई कोरोना मात्र होइन कुनै पनि प्रकारको संक्रमणको जोखिम कम हुन्छ। त्यसैले अहिलेको समयमा कोरोनासँग लड्न सबैभन्दा पहिले हामीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउने उपायहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। स्वस्थ आहार र जीवनशैली अपनाएर यसमा लाभ प्राप्त गर्न सकिन्छ। राम्रो रोग प्रतिरोधात्मक क्षमताले तपाईंलाई आउँदै गरेका कोरोनाका थुप्रै भेरियन्टबाट जोगाउन मद्दत गर्नेछ।
शारीरिक सक्रियता
स्वास्थ्य विज्ञहरूका अनुसार नियमित व्यायाम र शरीरलाई सक्रिय राख्नु प्रतिरक्षा प्रणाली बलियो बनाउने सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। सबै मानिसहरूले दैनिक कम्तीमा ३० मिनेट हल्का-मध्यम स्तरको योग-व्यायाम गर्नुपर्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी मात्र होइन, यो बानीले तपाईंलाई धेरै गम्भीर रोगको जोखिमबाट पनि बचाउन सक्छ।
तनाव तथा चिन्ताबाट बचौं
मन र शरीरको गहिरो सम्बन्ध छ। तनाव जस्तो अवस्था शरीरमा विभिन्न प्रकारका विकारहरूसँग सम्बन्धित हुन्छ। जस्तै पेट खराब हुनु, पित्त र हृदय रोग आदि। तनावपूर्ण अवस्थाले तपाईंको प्रतिरक्षा प्रणालीलाई पनि कमजोर बनाउँछ, जसले धेरै रोगहरूको जोखिम बढाउँछ। स्वस्थ शरीरको लागि स्वस्थ दिमाग धेरै महत्त्वपूर्ण छ।
यी कुरामा पनि दिनुस् ध्यान
-सन्तुलित आहार लिनुहोस्। फलफूल, हरियो सागसब्जी, च्याउ र उच्च फाइबरयुक्त खानेकुरा (होल ग्रेन, नट, सुकेको फल आदि) लाई आहारमा समावेश गर्नुहोस्। केही अध्ययनहरूले प्रोबायोटिक खानाहरू जस्तै दही, अचार र मोही पनि लाभदायक हुने बताएका छन्।
-धुम्रपान नगर्नुहोस्।
-मदिराको सेवनले शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै अन्य धेरै रोग निम्त्याउन सक्छ। त्यसैले मदिरा सेवन नगर्नुस्।
-आफ्नौ तौललाई सन्तुलित बनाइराख्नुस्।
-हाइड्रेशन राम्रो प्रतिरक्षा कार्य को एक भाग हो। पानी सबैभन्दा राम्रो हाइड्रेटर हो। दैनिक कम्तीमा ३-४ लिटर पानी पिउनुहोस्।
-पर्याप्त सुत्नुहोस्। वयस्कहरूलाई रातमा ७-९ घण्टा सुत्न आवश्यक छ। सुत्ने समय निर्धारण गर्नुहोस् र त्यसलाई कार्यान्वयन गर्नुस्।
-तनाव र चिन्ता कम गर्नुहोस्। योग, ध्यान, गहिरो सास फेर्नुस् र ‘माइन्डफुलनेस’ अभ्यास गर्नुहोस्। सुखदायक संगीत सुन्नुहोस्। साथीभाइ र परिवारसँग समय बिताउनुहोस्।